Techie IT
  • २०८१ वैशाख १३, बिहीबार

प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने छ जनालाई दुई वर्ष कैद


काठमाडौँ, ८ मङ्सिर । जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान लिने उद्देश्यले कुटपिट गर्ने ६ जनालाई जनही दुई वर्ष कैद सजाय तोकेको छ ।

न्यायाधीश विनोद खतिवडाको इजलासले बिहीबार ६ जनालाई कैद तथा जरिबाना फैसला गरेको हो । दोषी ठहर भएका सबै नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थी हुन् । अभियुक्तमध्येका एक जनालाई अदालतले सफाइ दिएको छ । चलाउनेलाई २८ लाख १७ हजार रुपियाँ उपचार खर्चबापतको क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले फैसलामा भनेको छ ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले सात प्रतिवादीमध्ये एक जनालाई सफाइ दिएको जानकारी दिए। ६ जनाको हकमा कैद जरिबाना र चलाउनेलाई क्षतिपूर्ति भराउने फैसला भएको पनि दाहालले बताए । प्रतिवादीबाटै उपचार खर्च भराउने पनि अदालतले फैसला गरेको हो ।

फैसला अनुसार अदालतले रवीनकुमार लामा, योगेन्द्र रावल, हरि आचार्य, नीरज रानामगर, रूपेश साह र सयुस भनिने सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद सजाय सुनाएको छ । ६ जनालाई नै जनही २० हजार रुपियाँ जरिबाना पनि तोकिएको छ । अदालतले आरोपित दीपकराज ओझालाई भने सफाइ दिएको छ ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ असोजमा विश्वविद्यालय परिसरमै कुटपिट भएको थियो । नेपाल विद्यार्थी सङ्घका त्रिभुवन विश्वविद्यालय इकाइ समिति अध्यक्ष आचार्यको योजनामा चलाउनेमाथि ज्यान लिने उद्देश्यबाट कुटपिट भएको भन्दै २०७७ कात्तिक २० गते मुद्दा दायर भएको थियो । सरकारले आरोपित सबैको मुद्दा फिर्ता गर्ने निर्णय गत असार ३ गते निर्णय गरेको थियो । तर सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न असार ७ गते अन्तरिम आदेश जारी गरेको थियो ।   



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट