Techie IT
  • २०८० मंसिर २४, आइतबार

कार्बन उत्सर्जन कम गर्न नेपालले ४५ प्रतिशत वनजङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्छः अर्थमन्त्री महत


काठमाण्डौं, ५ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् ।

आज मङ्गलवार काठमाण्डौमा भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न नेपालले ४५ प्रतिशत वनजङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताए । नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘नेपालले ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेको छ । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पुर्‍याएका छौँ । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेको छ । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । अहिले नेपालको जलवायुसम्बन्धी चुनौती भनेको कार्बन उत्सर्जन शून्य बनाउन सक्छ कि सक्दैन भन्ने होइन । नेपालले त्यो गर्छ । नेपालले कामबाट नै बताइसकेको छ ।’

अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न गाडीसमेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गरे । नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै उनले अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए । विकसित देशले गरेको कार्बन उत्सर्जनबाट नेपालका हिमालको हिउँ पग्लिरहेको भन्दै उनले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्नका लागि विकसित देशले नेपाललाई आर्थिक सहयोग गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभावबाट नेपाल मुक्त हुँदैन । त्यसका लागि धेरै कार्बन उत्सर्जन गरिरहेका देशहरूले पनि प्रतिबद्धता पूरा गर्नुपर्छ ।नेपालका हिमालको हिउँ पग्लिनुको कारण अन्य देशले गरेको कार्बन उत्सर्जनले हो । जलवायु परिवर्तन न्यूनीकरणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालले जलवायु परिर्वतनको ठूलो असर भोगिरहेको कुरा सम्मेलनमा राखिदिनुपर्छ ।’

अर्थमन्त्रीले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी जलविद्युतमा लगानी भइरहेको बताए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट