Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

भूकम्प पीडितहरुलाई चिसोको सास्ती


काठमाडौं । बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरु चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर भत्केका र चर्केका उनीहरु खुला आकाशमुनि बसिरहेका छन् ।

तत्काल राहतका त्रिपाल, फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए । तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका हुन् । बालबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन् ।

त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको जाजरकोटको नलगाड–१, चिउरीका सन्तोष कुमाइको गुनासो छ । चिसो बढ्न थालेसँगै पीडितलाई कसरी जोगाउने भन्ने अर्को चिन्ता थपिएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताएका छन् ।

एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन ढिला हुने भएकाले थप समस्या देखिएको घर्तीले बताउनुभयो । सरकारले तत्काल अस्थायी संरचना निर्माणका साथै पुनर्निर्माणका काम थाल्ने भने पनि अहिले बालबालिका, सुत्केरी, वृद्धवृद्धा बिरामी हुन थालेका छन् ।

भूकम्पको केन्द्रबिन्दु जाजरकोट यसअघि पनि झाडापखालाबाट निक्कै प्रभावित भएको जिल्ला हो । अहिले पनि रुघाखोकी, ज्वरो र अन्य सरुवा रोगको जोखिम बढेको छ । उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर अवस्था थप नाजुक हुन नदिन डाक्टरसहित स्वास्थ्यकर्मीको टोली निरन्तर प्रभावित क्षेत्रमा खटिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट