Techie IT
  • २०८० मंसिर २४, आइतबार

भाइटीका लगाउन सुरु, आज दिनभरी नै लगाउन सकिने


काठमाण्डौं, २९ कात्तिक । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकाको टीका आज दिनभर नै टिका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरुले बिहान १० बजेर ५१ मिनेटको समयमा टीका लगाउन सुरु गरेका छन् ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा देवमणि भट्टराईले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको भिड छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट