Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई आज बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गरे । वीर अस्पताललाई अझै विस्तार गरेर सुविधा सम्पन्न बनाउन सरकारले थप लगानी गर्ने उनले प्रतिबद्धता जनाए।

उनले भने, ‘चिकित्सकको पेसागत सुरक्षा, हित र वृद्धि विकासमा सरकार सचेत र गम्भीर छ । पछिल्लो समय स्वास्थ्यकर्मीहरूमाथि भइरहेका आक्रमणलाई सरकारले र सरकार प्रमुखको हैसियतले मैले गम्भीर रूपमा लिएको छु । यसबारेमा सरकारले स्वास्थ्यकर्मीहरूसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र त्योअनुसारको गृहकार्य गरिसकेको छ । स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको छ । स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन अपिल गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट