बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

काठमाडौँ, १७ असोज । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३:१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३:४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
यस्तै ४:२८ बजे तालकोट केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ ।
यसैगरी गएराति १२:१६ बजे दामेना केन्द्रबिन्दु भएर चार दशमलव एक, १२:५० बजे तालकोट केन्द्रबिन्दु भएर चार दशमलव तीन र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने
यसअघि गत कात्तिकमा डोटी केन्द्रबिन्दु भएर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस