जङ्गली जनावरको आक्रमणबाट चितवनमा दुई महिनामा चार जनाको मृत्य

चितवन । चालु आर्थिक वर्षको दुई महिनामा चितवनमा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परि मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट ज्यान गएको उनले जानकारी दिए।
सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परि ज्यान गएको थियो । यस्तै, रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीको आक्रमणमा परि मृत्युु भएको हो ।
त्यस्तै, अवधिमा चार वटा गैँडा मृत भेटिएका छन् । यसमध्ये एउटा सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणमा परेर मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए ।
निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२र७३ देखि अहिलेसम्म निकुञ्जमा २ सय ४ वटा गैँडा मरेका छन् । तीमध्ये १ सय २ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बुढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ वटा रहेका छन् ।
यस्तै, सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११ , खाडलमा परि तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेका २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।–रासस
तपाईको प्रतिक्रिया दिनुहोस