Techie IT
  • २०८० मंसिर २४, आइतबार

आज तीजको दरखाने दिन : मौलिकता गुम्दै, विकृति मौलाउँदै


काठमाडौं । आज तीजको दरखाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोली हिन्दू महिलाको धार्मिक एवम् सांस्कृतिक पर्व हरितालिका तीज । गाउँ, शहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।

बाबाले दिनुभयो बाटैमा छेकेर, 
सिको फाईव लिको पाईन्ट ला'को देखेर  ।
सिको फाईव लिको पाईन्ट लाउने आयो जमाना 
यस्तालाई बाबाले धनी नभन ।

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरीलै ।

बाबाको दैलामुनी ठूलो रुख बडार,
धेरैछोरी भएभनि हेँला नगर । 
धेरै छोरी भएपनि कर्मले खाने हो,
रुँदैरुँदै अर्कैको घर जाने हो ।

हाम्रा बाबाले दिनुभाको दाइजो
टिभि र मोटर झालेमाले गाई ....

केही वर्षअघिसम्म हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, शहर, गल्ली चोक, घरघरमा यस्तै यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासू–ससुरा र श्रीमानको खटनले मन लागेका बेलामा माइत जान नपाइएका, माइतीबाट बुवा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर पछिल्लो समय यो चलन र गीत हराउँदै गएका छन् ।

तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको देखिन्छ । अहिले शहरका पार्टी प्यालेसमा विकृत तीज मौलाउँदो छ ।

तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा अपनाउनुपर्ने काठमाडौं गोंगबु निबासी शोभा अधिकारीको भनाई छ । आफू सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको उनी आज पनि झल्झली सम्झन्छिन्। आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्याउनै गाह्रो हुने उनको भनाई छ । 

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा पोख्ने गरेकोमा आजकलको तीज, तीजजस्तो नै नभएको उनको भनाई छ ।  उच्छृङ्खल, तडकभडक र देखासिकीले आफ्नो मौलिकता गुमाइरहेको छ ।  

आजकल तीज विकृत बन्दै गएको छ । तीज मनाउने तरिका  र गीत दुवैमा तीजको मिठास हराएको छ । आजकल

ऐरेली काँडैले मलाई च्वास्सै च्वास्सै ....

बीसबर्ष पाखुरी माईतीलाई दिएको कस्ले देख्यो र ? ....

झनमाथी तान्यो झन् तल झर्छ हाइमेरो फरिया ...

यस्पालीको तीजमा बरै ख्याँस्स पुतली .....

हामीपनि नाच्ने हो बिच्च बिचमा ….

हो आजकल शहरका पार्टी प्यालेसहरुमा यस्तै गीत बज्छन् । अनि बेहोसीमा घोप्टे डान्स गर्छन्।

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको मौलिकपन गुम्दै गइरहेको छ , यस्ता उच्छृखङ्ल गीत र पार्टी प्यालेस कच्चरले पुरानो पुस्तादेखि नयाँ पिँढीका महिला सवै चिन्तित छन् । तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको काठमाडौं गोंगबु बस्ने लक्ष्मी अधिकारी बताउँछिन् ।

तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन । तीजको गीत तीजको नभएर ठट्यौली र रत्यौली जस्तो भएको उनको भनाई थियो ।

चाडपर्व, संस्कृति र पहिचानलाई बचाइ राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ ।  आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन्,  जस्को कारणले नेपाली संस्कृति र मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ । परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्दै जानु पर्छ न कि पश्चिमाको नक्कल ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट