Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौंबाट हरेक वर्ष २२ लाख मानिस बाहिरिनेमा यसपटक दुई लाख मात्र बाहिरिए

काठमाडौंबाट हरेक वर्ष २२ लाख मानिस बाहिरिनेमा यसपटक दुई लाख मात्र बाहिरिए


काठमाण्डौ – यसपालिको दशैँका लागि डेढ दुई लाख नागरिकले मात्रै काठमाण्डौ छोडेका छन् । पोहोर, परारको दशैँमा २० देखि २२ लाख जना काठमाण्डौबाट बाहिरिने गरेकोमा यसपालि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण धेरै जना गाउँघर गएका छैनन् ।

निजी गाडी हुनेहरु प्रायजसो गए पनि लामो दुरीका सार्वजनिक गाडी चढेर केही मात्रै गाउँ घर पुगेका छन् । कोरोना महामारीका कारण यसपालिको दशैँमा ३० देखि ३५ प्रतिशत मात्रै गाडी चलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले यात्रु नभएकाले सबै सार्वजनिक गाडी चलाउन नसकिएको बताए ।

आइतबार बिहानसम्ममा डेढ दुई लाख यात्रु मात्रै काठमाण्डौका विभिन्न नाका हुँदै बाहिरिएका उनले जानकारी दिए । उनले लामो दुरीमा आइतबारदेखि खासै यात्रु नजाने पनि बताए ।

लामो दुरीका बसले यात्रु नपाए पनि आइतबार काठमाण्डौ उपत्यका नजिकका नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा भने यात्रु जाने छन् । गएको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै २० हजार नौ सय ८२ जना बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यो अवधिमा आठ हजार चार सय ९४ यात्रु भने काठमाण्डौ भित्रिएका छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश