Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १ओखलढुंगाको खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालियो

ओखलढुंगाको खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालियो


ओखलढुङ्गा, ९ कात्तिक । खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्वा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।

सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले वडाको बजेटबाट मासिक ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

यस वर्षदेखि खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका सात एकल पुरुषले मासिक ५०० रुपैयाँका दरले भत्ता पाउन थालेका छन् । वडा कार्यालयले एकल पुरुषलाई यस वर्षको मासिक भत्ताबापत ६ हजार रुपैयाँ वितरण गरिसकेको छ । खिजीदेम्वा ४ मा १५ एकल पुरुष छन् । उनीहरुमध्ये आठ जना ६० वर्षमुनिका छन् । ६० वर्षमुनिका एकल पुरुष आफै सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । ७० वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडा कार्यालयले जनाएको छ ।

सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुसी लागेको र त्यो रकम ओखतीमूलोका लागि खर्च गरिने स्थानीयवासी सन्तलाल तामाङले बताए । अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

खिजीदेम्वा ४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रुपमा जनपक्षीय काम गर्दै आएका छन् । व्यक्तिगत खर्चमा गाउँका गर्भवतीलाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हातधुने साबुन वितरणसहितका सहयोग उनीबाट भएको छ ।

वडा कार्यालयको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्तिलगायत विभिन्न नयाँ कार्यक्रम खिजीकातीमा सञ्चालन हुँदै आएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश १