Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशका अस्पतालहरुमा प्लाज्मा थेरापीका लागि रगत संकलन

लुम्बिनी प्रदेशका अस्पतालहरुमा प्लाज्मा थेरापीका लागि रगत संकलन


बुटवल, ७ कात्तिक । अब लुम्बिनी प्रदेशका सबै कोरोना विशेष अस्पतालहरुमा प्लाज्मा थेरापीका लागि रगत संकलन हुनेभएको छ । यो प्रदेशमा चार वटा त्यस्ता अस्पतालहरु छन् ।

प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बुटवलमा बसेको बैठकले यस्तो ब्यवस्था गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रको बैठकले लक्षण देखिएका शंकास्पद विरामीहरुको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्ने लगायतका निर्णयहरु समेत गरेको छ । त्यस्ता बिरामीहरुलाई अनिवार्य परीक्षणको दायरामा ल्याउने र आफ्नै खर्चमा आफ्नो सुरक्षाको लागि परीक्षण गर्न चाहने व्यक्तिलाई सःशुल्क परीक्षणको व्यवस्था गर्ने समेत निर्णय भएको छ ।

त्यस्तै बैठकले सबै कोभिड विशेष अस्पतालमा बिशेष क्षमता विस्तार गर्ने, लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा अघिल्लो निर्णयानुसार तत्काल आईसियु र हाईडिपेन्डसी युनिट सेवा विस्तार गर्ने, अन्य सबै जिल्ला अस्पतालहरुमा अन्य सेवा प्रभावित नहुनेगरि पाँच बेडसम्म क्षमताको हाईडिपेन्डसी युनिट सेवा संचालन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तो सेवा स्थापना गर्दा लाग्ने खर्च केन्द्र सरकारबाट प्राप्त भएको सहयोग र अनुदानलाई परिचालन गर्ने तथा नपुग रकम प्रदेश सरकारसंग माग गर्ने गरि तत्काल व्यवस्था मिलाईने भएको छ ।

त्यस्तै, लक्षणसहितका विरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने,यसरी उपचार गर्दा लाग्ने खर्च सङ्क्रमित बिरामीको विमा गरेको भए सो बाट व्यहोर्ने र विमा रकम भन्दा बढि खर्च भए पनि निःशुल्क गर्ने निर्णय बैठकले गरेको छ । त्यसको संयोजन सामाजिक विकास मन्त्रालयले गर्नेछ ।

यसैगरी, होम आईसोलेशनमा बस्ने सक्रमितहरुलाई नियमित निगरानीमा राख्ने गरी स्वास्थ्यकर्मी सहित जनप्रतिनीधिको टोली स्थानीयतहले निर्माण गर्ने,होम आईसोलेशनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धार लगायतको व्यवस्था र आवश्यक तथ्याङ्क नियमित रुपमा गर्ने लगायतका निर्णयहरु पनि भएका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार बैठकले भारतसंग आवत जावत गर्न तोकिएको सिमा नाका मात्र व्यवस्थित रुपमा संचालन गर्ने,अन्य नाका तथा स्थानबाट लुकीछिपी हुने आवतजावतलाई नियन्त्रण गर्ने व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने,संक्रमबाट बढ्दो मृत्युदरको बारेमा अध्ययन अनुसन्धान गर्न सामाजिक विकास मन्त्रालयले आवश्यक टिम बनाई खटाउने जस्ता निर्णयहरु समेत गरेको छ ।

दसैं लगायतका चाडपर्वहरु नजिकिएका बेला केन्द्रले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य प्रयोग सहित घर,घरमा नै धार्मिक तथा साँस्कृतिक चाडपर्व मनाउन आग्रह गरेको छ । त्यसका लागि स्थानीय तहले जनचेतनामुलक कार्यक्रम र खोई मास्कलगायतका अभियान संचालन गर्ने, सार्वजनिक यातायातमा अनिवार्य स्वास्थ्य मापदण्ड लागू गर्ने लगायतका १४ वटा निर्णयहरु गरेको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश