बर्दियाको ठाकुरबाबा नगरपालिकाले रोजगार मेला आयोजना गर्ने

बर्दिया, २७ भदौ । यही असोज ३ गते बुधवार बर्दियाको ठाकुरबाबा नगरपालिकामा रोजगार मेला हुने भएको छ ।
नगरपालिकाले आज मङ्गलवार रोजगार सञ्चालनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिएको हो । स्थानीयस्तरमा भएका दक्ष जनशक्तिलाई स्थानीयस्तरमै प्रवर्धन गर्ने उद्देश्यसहित नगरपालिकामा रोजगार मेला हुने भएको हो ।
ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा बाँके युनेस्को क्लबको सहकार्यमा भएको कार्यक्रममा सरोकारवाला पक्षहरूबीच रोजगारी सिर्जना गर्नका लागि दक्ष जनशक्ति उत्पादन कसरी गर्ने र स्थानीयस्तरमा स्वरोजगार बनाउने विषयमा छलफल भएको थियो ।
अहिले बर्दियालगायत देशभरका दक्ष युवाहरू कक्षा १२ पास गर्नेबित्तिकै विदेश जाने अवस्था आउनुले नेपालमा रोजगारदाता र रोजगार गर्ने दुवैको आवश्यकता महसुस भइरहेको छ । नेपालमा आयआर्जनका थुप्रै माध्यम भए पनि उचित मूल्य नहुँदा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम दिनहुँ बढिरहेको छ ।
छलफल कार्यक्रममा ठाकुरबाबाभित्र रहेका दक्ष जनशक्तिहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको दक्षताअनुसारको काम दिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने, कृषि र पर्यटनलाई आधुनिकीकरण गर्नुपर्ने, नगरपालिकाले पढ्दै कमाउँदै गर्ने रोजगार दिनुपर्ने जस्ता विषयमा सहभागीहरूले सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले रोजगार मेला उपलब्धिमूलक बनाउनका लागि नगरपालिकाले नीति बनाएर अघि बढ्नुपर्ने बताए। दीर्घकालीन रूपमा रोजगार मेला सञ्चालन गर्नका लागि सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।
असोज ३ गते अर्थात् संविधान दिवसका दिन नगरपालिका–२ को कर्भड हलमा रोजगार मेलाको उद्घाटन हुने नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस