Techie IT
  • २०८० असोज १७, बुधबार

भदौमै पाक्यो सुन्तला


म्याग्दी, २७ भदौ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँस्थित भर्जुला गाउँमा यसवर्ष भदौ महिनामै सुन्तला पाकेको छ । भर्जुलाका स्थानीय बमबहादुर शेरपुञ्जाले आफ्नो बारीमा लगाएको जापानीज प्रजातिको ‘मेगावासे’ सुन्तला पाकेको हो ।

शेरपुञ्जाको बारीमा लटरम्मै फलेका सुन्तला पहेँलपुर भएर पाकेपछि अहिले बिक्रीको तयारी शुरु भएको छ । सुन्तला उत्पादनका लागि भर्जुला उपयुक्त हावापानी भएको क्षेत्रको रुपमा चिनिन्छ । कृषक शेरपुञ्जाले बारीमा लगाएका २५ बोटमा फलेको सुन्तला पाकेपछि बिक्री गर्ने तयारी थालेको जानकारी दिए ।

बेमौसममा फलेका कारण सुन्तला बिक्रीका लागि बजारको अभाव नभएको बताउँदै कृषक शेरपुञ्जाले परीक्षणको रुपमा लगाएको सुन्तलाले व्यावसायिक उत्पादन दिएको बताए । उनले प्रतिकेजी दुईसय ५० रुपैयाँसम्म बिक्री हुने मेगावासे जातका सुन्तलाको दाना ठूला र निकै स्वादिलो हुने भएकाले गाउँमा पहिलोपटक उत्पादन भएको सुन्तला घरायसी प्रयोजन र आफन्तलाई कोसेलीसमेत दिने गरेको बताए।

कृषक शेरपुञ्जाले झण्डै २ रोपनी क्षेत्रफलको जग्गामा सुन्तला खेती गरेका छन् । साउन महिनाको अन्तिम हप्तादेखि नै पाक्न शुरू हुने भएकाले आगामी वर्ष नर्सरी बनाएर थप सुन्तलाको बिरुवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

मौसमी र बेमौसमी सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने योजना रहेको बताउँदै कृषक शेरपुञ्जाले असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु र जापानीज मेगावासे प्रजातिको सुन्तलालेसमेत उत्पादन दिएको बताए।

कलमी गरेर थप सुन्तलाको बिरुवा गाउँभरी विस्तार गर्ने कृषक शेरपुञ्जाको योजना छ । भर्जुला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहेका शेरपुञ्जाको फार्ममा ड्रागन फुड, एभोकाडो, अङ्गुर, जापानीज जुनार लगायतका फलफूलहरुकोसमेत उत्पादन हुन्छ । भर्जुला गाउँको अगुवा कृषक शेरपुञ्जाले गाउँमा बेमौसमी तथा आधुनिक प्रजातिका फलफूलहरु भित्र्याएका छन् ।

स्नातकोत्तर तहसम्मको अध्ययन गरेका शेरपुञ्जाले आधुनिक कृषि पेशा अपनाएको स्थानीय बालोदय आधारभूत विद्यालयका शिक्षक मनकुमार जुग्जालीले बताए । वडा भित्र व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका कृषकलाई प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने वडा कार्यालयले जनाएको छ । गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्र म्याग्दीबाट बेमौसमी सुन्तला खेतीको सम्भावनाको बारेमा थप जानकारी लिएर कृषकहरुलाई सघाउने वडाध्यक्ष एकजित रोकाले बताए

कुहुँको भर्जुलासहित उपयुक्त हावापानी हुने क्षेत्रमा सुन्तला खेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग तथा किरा नियन्त्रण, निःशुल्क बिरुवा वितरण लगायतका प्राविधिक सहयोग गरिनेछ । म्याग्दीमा पछिल्लोपटक सुन्तला खेती फस्टाउन थालेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट