Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

विपद् रोक्न आवश्यक तयारीमा गृह मन्त्रालय


गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ ।

मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो ।

बैठकमका मन्त्री थापाले मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न निर्देशन दिए । “मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरुको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ”, गृहमन्त्री थापाले बताए ।

गैरसरकारी संस्थाहरुलाई पनि विपद् रोक्ने कार्यमा सहकार्य गर्नेसमेत गृहमन्त्री थापाले बताए । आजको बैठकमा प्रस्तुत भएको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास भएको गृह मन्त्रालयले जनाएको छ ।

आएका योजना उपयुक्त रहेकाले त्यसको कार्यान्वयनमा लाग्नुपर्नेमा मन्त्री थापाको जोड छ । उहाँले यो वर्ष औसतमा विपद् आउँछ भन्ने आँकलन गरिए पनि ठूलै विपद् आउँछ भन्ने ढङ्गले तयारी गरेर भूमिका निर्वाह गर्नुपर्नेमा आवश्यकता औँल्याए।

बैठकमा मन्त्री थापाले थप्दै भने, “एउटा सरकारीस्तरबाट तयारी गर्नुपर्छ, अर्को प्रदेश र स्थानीय तहले तयारीका साथ आ–आफ्नो जिम्मेवारी लिन जरुरी रहेको छ, त्यसका साथै गैरसरकारी निकायको पनि भूमिका छ ।”

यो वर्ष विपद्को सामना गर्दा दुई वटा विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्नुपर्नेमा मन्त्री थापाले जोड दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट