गृहपृष्ठ ∕
समाचार ∕
प्रहरी जवान रामबहादुर साउदको सम्मानसहित अन्त्येष्टि
प्रहरी जवान रामबहादुर साउदको सम्मानसहित अन्त्येष्टि
अछाम, ६ कात्तिक । कैलालीमा तस्करहरुद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउदको अछामको कैलाश खोलामा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका ५ कालिका घर भइ धनगढी उपमहानगरपालिका १२ को जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत साउदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको हो । प्रहरी सहायक निरीक्षक (अस) रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएको थियो । अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
प्रहरी जवान साउदलाई उनका भाइले दागबत्ती दिएको आफन्त नवराज साउदले बताए ।
गएको शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै बेपत्ता भएका प्रहरी जवान साउदको शव मङ्गलबार मोहना नदीमा गाडिएको अवस्थामा भेटिएको थियो । प्रहरी सहायक निरीक्षक विकको शव भेटिएको ठाउँदेखि दुई सय मिटर तल साउदको शव भेटिएको थियो ।
प्रहरी सहायक निरीक्षक विकको भने आइतबार बिहानै शव भेटिएको थियो । दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ परेकामध्ये सात जनाले अपराध स्वीकार गरिसकेका छन् । केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
मृतक प्रहरी जवान साउदका श्रीमती र दुई छोरी छन् । आश लाग्दा प्रहरी जवानको तस्करले विभत्स हत्या गरेको घटनाबाट सिङ्गो प्रहरी सङ्गठन र गाउँ शोकमा छ ।
क्याटेगोरी :
समाचार,
सुदूरपश्चिम प्रदेश
ट्याग : #hot