Techie IT
×
गृहपृष्ठसमाचारविपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशील हुन सकेन : माधव नेपाल

विपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशील हुन सकेन : माधव नेपाल


काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमित नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले सो माग गरेका हुन् ।

सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा संक्रमित नागरिकलाई आफ्नो उपचार आफै गर्नु भन्ने निर्णय अनुचित भएको उनको भनाई छ । “यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन” नेता नेपालले भनेका छन् ।

गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशील हुन नसकेको उनले टिप्पणी गरेका छन् । संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्छ उनले भनेका छन् ।

मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेता नेपालले भनेका छन् । सरकारको सोही निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेको पूर्व प्रधानमन्त्री नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot