Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

जेडएसएल नेपाल प्रमुखमा डा. दाहाल


काठमाडौं । संरक्षण साझेदार संस्था जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल कार्यालयको राष्ट्रिय प्रतिनिधिमा डा. भगवान दाहाल नियुक्त भएका छन् ।

दाहाललाई जेडएसएल हेड क्वाटर व्यवस्थापनले मङ्गबार नेपाल कार्यालयको राष्ट्रिय प्रतिनिधिमा मनोनयन गर्ने निर्णय गरेको हो । डा. दाहाल यसअघि जेडएसएल नेपाल कार्यालयमा उपराष्ट्रिय प्रतिनिधि भएर काम गर्दै आएका थिए । आगामी अक्टुवर १ बाट लागु हुने गरी दाहाललाई राष्ट्रिय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।

संरक्षणका कामलाई नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यका साथ जेडएसएल सन् २०१४ मा स्थापना भएको एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो ।

दाहालले सो संस्थामा सन् २०१४ बाट काम गर्दै आएका छन् । ट्रान्सबाउण्ड्री टाइगर प्रोजेक्ट म्यानजर भएर २०१८ सम्म काम गरेका दाहाल सन् २०१९ जनवरीबाट नेपाल कार्यालयको उपराष्ट्रिय प्रतिनिधि भएर काम गर्दै आएका थिए ।

गत जुलाई महिनामा सो पदका लागि ग्लोबल दरखास्त आह्वान गरिएको थियो ।

प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञानमा विज्ञता हासिल गरेका ६० जना भन्दा बढी विज्ञहरुले सो पदका लागि प्रतिष्पर्धा गरेका थिए । पहिलो चरणमा २० जना छनौटमा परेका विज्ञ प्रतिष्पर्धीहरुलाई अन्तिम चरणमा सात जना छनौट गरिएको बताइएको छ । सात जना मध्येबाट डा. दाहाल सो पदका लागि मनोनयन भएका हुन् ।

डा.दाहालले यस अघि रेडपाण्डा नेटवर्कमा सन् २००९ देखि २०११ सम्म राष्ट्रिय आयोजना प्रमुख भएर काम गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा स्नातकोत्तर गरेका दाहालले जर्मनबाट माष्टर्स अफ साइन्स इन ट्रोपिकल इकोलोजीमा स्नातकोत्तर तहको शिक्षा आर्जन गरेका छन् । उनले अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयबाट सन् २०१५ मा विद्यावारिधि उपाधी हासिल गरेका छन् ।

संरक्षण साझेदार संस्थामा विज्ञहरुको उपस्थिति
नेपालका संरक्षण साझेदार संस्थाहरु डब्लुडब्लुएफ, जेडएसएल, आइयूसिएन, इसिमोड लगायतका संस्थाका प्रमुखमा विषय विज्ञ व्यक्तिहरुको उपस्थिति देखिएको छ ।

अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट विशेषज्ञता हासिल गरेका व्यक्तिहरु संरक्षण साझेदार संस्थाका प्रमुखमा उपस्थिति हुनुले नेपालका संरक्षण अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । डब्लुडब्लुएफको नेपाल राष्ट्रिय प्रतिनिधिमा डा।घनश्याम गुरुङले नेतृत्व गरिरहेका छन् । जेडएसएलमा यस अघि डा. हेमसागर बरालले नेतृत्व समालिरहेका थिए भने हाल डा. भगवान दाहाललाई नेतृत्व दिइएको छ ।

त्यसैगरी आइयूसिएन नेपाल कार्यालयको प्रमुखमा डा. नरेन्द्रबाबु मान प्रधानलाई केही दिन अघि जिम्मेवारी दिइएको छ । त्यसैगरी इसिमोडको महानिर्देशकमा डा. पेमाले नेतृत्व गरिरहेका छन् ।

संरक्षण साझेदार संस्थाहरुको नेतृत्वमा रहेका विषय विज्ञहरुको अनुभव, ज्ञानलाई वन तथा वातावरण मन्त्रालयको नेतृत्वले बढी भन्दा बढी सदुपयोग गर्न सके नेपालको संरक्षण अभियान अझ सुदृढ हुने कुरामा दुइमत छैन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान तथा विज्ञता हासिल गरेका अनुभवले खारिएका संरक्षण साझेदार संस्थामा नेतृत्व गरेका व्यक्तिहरुले वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेको टीमलाई आवश्यक सहयोग गर्न जरुरी छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट