Techie IT
  • २०८० मंसिर २५, सोमबार

चन्द्रमाको शिवशक्ति बिन्दु मुनि माइनस १० डिग्री सेल्सियस तापमान


भारतले सफलतापूर्वक चन्द्रयान तीनलाई चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गराएर चन्द्रमाको सतहमा यान पुर्याउने विश्वको चौथो देश बनेको छ भने चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बनेको छ ।

भारतको अन्तरिक्ष अध्ययन संस्थान इसरोका वैज्ञानिकहरूको समूहले चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अगस्त २३ का दिन भारतीय समय अनुसार बेलुका ६ बजेर ४ मिनेटमा अवतरण गराउन सफलता पाएको थियो । 

चन्द्रयान तीन अवतरण गरेको दक्षिणी ध्रुवको यो बिन्दुलाई शिवशक्ति बिन्दु नामाकरण गरिएको छ । यो यानको विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा पुगेपछि केही तस्विरहरू पठाएको छ  ।

विक्रम ल्यान्डरले पठाएका ती तस्विरहरूका अनुसार चन्द्रमाको सतहमा करिब ५० डिग्री तापमान रहेको छ भने ८० मिलिमिटरको गहिराइमा यो तापमान माइनस १० डिग्री सेल्सियस रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ल्यान्डरको पहिलो पर्यवेक्षणबाट पठाइएको तस्विरमा यस्तो स्थिति देखियो । इसरोले शनिबार २६ अगस्टका दिन प्रज्ञान रोभरले पठाएको दोस्रो भिडियो साझा गरेको थियो ।

चन्द्रयान तीनको विक्रम ल्यान्डरमा जडान गरिएको चास्टे पेलोडले चन्द्रमाको तापमानसम्बन्धी पर्यवेक्षणका तस्विर पठाएको हो । चास्टे पेलोडको पूरा नामा चन्द्र सरफेस थमोफिजिकल एक्सपेरिमेन्ट हो । चास्टे पेलोडका अनुसार चन्द्रमाको सतह र भिन्न भिन्न गहिराइमा तापमानमा धेरै फरक फरक खालका छन् ।

सोही अध्ययनबाट चन्द्रमाको दक्षिण ध्रुवको सतहमा तापमान ५० डिग्री सेल्सियसको हाराहारीमा छ भने ८० मिलिमिटर गहिराइमा तापमान माइनस १० डिग्री सेल्सियस रहेको रेकर्ड गरिएको छ । चास्टेमा ताप मापन गर्न टेम्परेचर सेन्सर जडान गरिएको छ । यो सेन्सर चन्द्रमाको सतहको १० सेन्टिमिटरको गहिराइसम्म पुग्न सक्छ । अर्थात त्यति गहिराइको तापमान मापन गर्न सक्छ भन्ने बुझाइ हो ।

चास्टे पेलोडलाई स्पेस फिजिक्स ल्याब्रटरी भीएसएससीले अहमदाबादको फिजिकल रिसर्च ल्याब्रटरीसँग मिलेर बनाएको हो ।

दक्षिण ध्रवको तापमानबारे इसरोका वैज्ञानिकहरूले भविष्यमा मानिसको बसोबास हुन सक्ने अध्ययनलाई थप पुष्टि र विस्तार गर्नु रहेको बताएका छन् ।

इसरो प्रमुख एस सोमनाथले चन्द्रयान तीनलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यबारे यस्तो जानकारी दिएका हुन् । भविष्यमा यस क्षेत्रमा मानिसको बसोबास हुनसक्ने भएकाले यो यानको अवतरणका लागि यो क्षेत्र चुनिएको बताए । यहाँ मानव बस्तीको विकासको क्षमता हुन सक्ने वैज्ञानिक आधारलाई अझ बढी विस्तार गर्नु रहेको हो । 
दक्षिणी ध्रुवमा सूर्यको प्रकाश कम समयका लागि रहन्छ । वैज्ञानिकहरूले यहाँको माटोको विषयमा अध्ययन गरिरहेका छन् । यहाँको माटोको क्षमताले भविष्यमा मानव बस्तीको योजनालाई थप बल पुग्ने उनीहरूको अनुमान छ ।

चन्द्रयान तीनसँग कुल सात पेलोड पठाइएका छन् । यो भारतीय चन्द्रयान मिसनका तीन भाग छन् । प्रोपेल्शन मोड्युल, ल्यान्डर र रोभरमा जडान गरिएका सात पेलोड जडान गरिएका छन् । ती मध्ये एक पेलोडको नाम शेष राखिएको छ । यो चन्द्रयान तीनको प्रोपेल्शन मोड्युलमा लगाइएको छ । यो चन्द्रमाको कक्षको परिक्रमा गरिरहेको छ । चन्द्रमाको परिक्रमा गरी पृथ्वीबाट आउने विकिरण (रेडिएशन)को अध्ययन गरिरहेको छ ।

यसैगरी ल्यान्डरमा ती पेलोड लगाइएका छन् । तीनका नाम क्रमशः रम्भा, चास्टे र इल्सा राखिएको छ । प्रज्ञानमा दुई पेलोड छन् । अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाको पनि एक उपकरण जडान गरिएको छ । यसको नाम लेजर रेट्रोरिफ्लेक्टर अरे हो  । यो चन्द्रयान तीनको ल्यान्डरमा जडान गरिएको छ । यसले चन्द्रमाबाट पृथ्वीको दूरी मापन गर्ने काम गर्छ ।

चन्द्रयान तीनको ल्यान्डरको सफ्ट ल्यान्डिङ चार चरणमा सम्पन्न भयो । इसरोले २३ अगस्टका दिन स्थानीय समय अनुसार ५ बजेर ४४ मिनेटमा ३० किलोमिटरको उचाइबाट स्वचालित अवतरण प्रक्रिया अटोमेटिक ल्यान्डिङ प्रोसेस सुरु गरेको थियो । यो स्वचालित अवतरण प्रक्रिया पूरा हुन २० मिनेटको समय लागेको थियो ।

चन्द्रयान तीनले ४० दिनमा २१ पटक पृथ्वीलाई र एक सय २० पटक चन्द्रमाको परिक्रमा गरेको थियो । चन्द्रमासम्म पुग्न चन्द्रयान तीनले तीन लाख ८४ हजार किलोमिटरको दूरी पूरा गर्न ५५ लाख किलोमिटरको यात्रा पूरा गर्नु परेको हो ।

ल्यान्डर ल्यान्डिङ साइटबाट सात सय ५० किलोमिटरको उचाइमा थियो । ३० किलोमिटरको उचाइमा गति प्रतिघन्टा छ हजार किलोमिटरको थियो  यो रफ ब्रेकिंग फेज साढे एघार मिनटसम्म चलेको थियो ।  यसक्रममा विक्रम ल्यान्डरको सेन्सरहरूलाई क्षमता अभिवृद्धि गरिएको थियो ।

ल्यान्डरको क्षैतिजिक स्थिति हरिजन्टल पोजिसनमा ३० किलोमिटरको उचाइबाट सात किलोमिटर चार सय मिटरको उचाइमा ल्याइयो ।

एटिट्युड होल्डिंग फेजमा विक्रम ल्यान्डरले चन्द्रमाको सतहको फोटो खिचेको थियो । योसँग रहेका पहिलेका फोटोसँग यो फोटोको तुलनात्मक अध्ययन गरेको थियो ।
चन्द्रयान तीनको यो फेज ३८ सेकेन्डको थियो तर यसले यो १० सेकेन्डमा पूरा गरेको थियो ।

१० सेकेन्डमा विक्रम ल्यान्डर चन्द्रमाको उचाइ ७ .४ किलोमिटरबाट घटेर ६.८ किलोमिटरमा झरेको थियो ।

अब यो फाइन ब्रेकिंग फेजमा पुगेको थियो । यो फेज एक सय ७५ सेकेन्डसम्म चलेको थियो । यतिखेर विक्रम ल्यान्डरको गति शून्य हुन पुगेको थियो । यसलाई पूरा सीधा गरिएको थियो । यो चन्द्रमाको सतहबाट एक किलोमिटरको दूरीमा थियो ।
 

टर्मिनल डेसेन्टको अवस्थामा ल्यान्डरलाई डेढसय मिटरको उचाइमा ल्याइयो । सबै आवश्यक स्थितिहरूको अध्ययन गरी यसलाई सफ्ट ल्यान्डिंग नरम अवतरण गराइयो ।
भारतको अन्तरिक्ष अध्ययन संस्थान इसरोले चन्द्रमामा यान अवतरण गराउने सफलता तेस्रो पटकमा पाएको हो । त्यसैले यसलाई चन्द्रयान तीन पनि भनिएको हो । पहिलो मिसनमा यसले चन्द्रमामा पानी खोजेको थियो । 

सन् २००८मा चन्द्रयान प्रथमको प्रक्षेपण गरिएको थियो । यसमा एक प्रोबको क्र्यास ल्यान्डिङ गरिएको थियो । यसले चन्द्रमामा पानीको बारेमा जानकारी दिएको थियो । 
फेरि यसले २०१९मा चन्द्रयान द्वितीय चन्द्रमाको निकट पुग्न सफलता पाएको थियो । तर, यसले अवतरण गर्न पाउने सफलता प्राप्त गर्न सकेन् ।

चन्द्रयान तृतीयले २३ अगस्ट २०२३मा अवतरण गर्न सफल भयो । चन्द्रयान तीन सतहमा पुगेपछि आफू सफलतापूर्वक गन्तव्यस्थलमा पुगेको जनाउ दिएको थियो ।

चन्द्रयान द्वितीयको असफलतापछि विश्वका विकसित देशहरूले भारतको खिसिट्युरी गरेका थिए । यो सफलतापछि बधाइ दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो सफलतापछि दिएको पहिलो सन्देशमा अन्तरिक्ष अभियान र चन्द्र अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट