Techie IT
  • २०८१ वैशाख ८, शनिबार

निर्मला हत्या प्रकरण : ५ वर्ष बित्यो, अझै अनुसन्धान चल्दै


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज (बुधवार) पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्दाको टुङ्गो लागेको छैन ।

विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

त्यो घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर आन्दोलन हुनुका साथै यो मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बनेको थियो । यस प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टैछुट्टै छानबिन समिति गठन भए । तर अहिलेसम्म पनि प्रहरी अपराधीसम्म पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको बताउँछन् । ‘अहिले पनि घटनाको निरन्तर अनुसन्धान भइरहेको छ’, उनले भने, ‘जिल्ला प्रहरी र सीआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ ।’ प्रहरीले अहिले पनि घटनामा शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ ।

घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म एक सय २३ जनाको डीएनए परीक्षण गरिसकेको छ । निर्मलाको न्यायका लागि सडकदेखि सदनसम्म जोडतोडका साथ आवाज उठ्यो । न्यायको लडाइँका लागि निर्मलाका आमाबुवा महेन्द्रनगरदेखि काठमाडौंसम्म धाए पनि न्याय प्राप्त भएको छैन ।

घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररूप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए । -रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट