दाङ, २ असार । दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् ।
घोराही उपमहानगरपालिका १८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका १८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका ५ की २१ वर्षीया सीता चौधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको थियो ।
भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताए । ‘उनीहरु माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ’, वडाध्यक्ष अर्यालले भने ।
आफूले पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नो संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइदिएको उनले जानकारी दिए ।
उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ । त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
क्याटेगोरी :
रोचक,
समाचार
ट्याग : #breaking