Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णालीमा कोरोना संक्रमित एक हजार नाघे, १५१ जना निको भए

कर्णालीमा कोरोना संक्रमित एक हजार नाघे, १५१ जना निको भए


सुर्खेत, १ असार । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । सोमबार मात्रै नयाँ ११० जना सङ्क्रमित थपिएपछि कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ७७ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन जना थप भएपछि कुल सङ्क्रमितको सङ्ख्या एक हजार ७७ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार दैलेखमा ९१ जना र सुर्खेतमा १९ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।
नयाँ थप भएपछि सबैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखमा ६२९ पुगेको छभने सुर्खेतमा २३१ पुगेको छ ।

त्यस्तै सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एकरएक जना सङ्क्रमित फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म सङ्क्रमित फेला परेको छैन । अरु १६ जना अन्य प्रदेशका रहेका छन् । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या ९९८ र महिलाको सङ्ख्या ७९ जना रहेका छन् ।

१५१ जना निको भएर फर्किए

सोमबारसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको सङ्ख्या १५१ पुगेको छ । कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना, लेकबेसी आइसोलेसन सेन्टर सुर्खेतबाट नौ जना गरी कूल ५७ जना नयाँ सङ्क्रमित निको भएर घर फर्किका छन् । योसहित अहिलेसम्म कुल १५१ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस