Techie IT
×
गृहपृष्ठसमाचारमलेसियन गृहमन्त्रीको प्रतिवद्धता : श्रम क्षेत्रको कोशेढुङ्गा

मलेसियन गृहमन्त्रीको प्रतिवद्धता : श्रम क्षेत्रको कोशेढुङ्गा


काठमाडौं। नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको र उनीहरूलाई पनि आफ्नो देशको कामदार सरह सेवा सुविधा दिने मलेसिया सरकारको प्रतिवद्धतालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्री इजमाइलले नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाएका छन्।

छलफलमा, आवश्यक सुधार गरी मलेसिया–नेपालबीचको श्रम सम्झौता नविकरण गर्ने सहमति समेत भएको छ। मन्त्री इजमाइलका अनुसार मलेसिया सरकारले तत्कालै नयाँ श्रम नीति बनाउदै छ। जानकारहरूका अनुसार यो प्रतिवद्धता लागू हुँदा अदक्ष कामदारले समेत कम्तिमा प्रतिव्यक्ति मासिक १५ सय रिङ्गिट तलब बुझ्नेछन् भने ओभरटाइम सुबिधा भएका कम्पनी वा सेवा क्षेत्रमा कम्तिमा २२ सय रिङ्गिट तलब बुझ्नेछन्। दक्ष कामदारहरूले दक्षताका आधारमा थप सेवा सुबिधा पाउनेछन्।

नेपाली श्रमिकको ब्यवस्थापन गर्दै आएका पुराना ब्यवसायी लोचन बिमली मन्त्री इजमाइलको यो प्रतिवद्धतालाई वैदेशिक रोजगार क्षेत्रको एक कोशेढुङ्गाका रूपमा बुझ्दछन्। हाल मलेसियामै रहेका बिमलीले झिल्कोसँग कुरा गर्दै ‘मलेसियन र नेपाली श्रमिक, अब मलेसियामा समान हुनुले श्रम जनशक्तिको उत्साह र गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने’ बताए।

मलेसियाले नेपाली कामदारलाई उच्च प्राथमिकता दिंदा बर्षेनी तीन लाखसम्म जनशक्तिको रोजगार गन्तव्य मलेसिया हुनसक्ने समेत बिमलीले बताए। जनशक्ति ब्यबस्थापनको मध्यस्थता गर्ने म्यानपावर ब्यवसायीलाई भने बैज्ञानिक ढङ्गले नियमन गर्नु जरुरी रहेको उनले बताए।

‘सरकारले फ्री भिसा, फ्री टिकट भनेपनि कामदारबाट दुईदेखि–तीनलाख रुपैंयासम्म अनौपचारिक असुल्ने गरिएको छ। यसले राजश्वमा प्रतिकुलता थपेको त छ नै, केही कारण भनेजस्तो काम नपाए श्रमिकको पैसा खेर जाने जोखिम पनि छ।’ बिमलीले भने– ‘बरु श्रमिकको सुरु दुई वा तीन महिनाको तलव म्यानपावरले लिने नीति बनाए यस सन्दर्भको विकृति समाधान हुन्छ ।´


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस