काठमाडौं । अपहरणपछि हत्या गरिएकी बाँकेकी निर्मला कुर्मीका लागि न्याय माग्दै ३८ दिनदेखि पीडित परिवार, स्थानीय महिला र अधिकारकर्मीहरूले धर्ना दिइरहेका छन्। जिल्लामा भएको बर्षौंदेखिको आन्दोलनलाई सरकार र प्रशासनले टेरपुच्छर नलगाएपछि काठमाडौं नै आएर माइतिघर, मण्डलामा केन्द्रित भएर धर्ना दिइएको यो तेस्रो पटक हो ।
यसले सामाजिक न्याय भनेर कहिल्यै नथाक्ने संबिधान पक्षधरहरूको संवेदनहीनतालाई त उजागर गरेको छ नै, संबिधान विरोधीहरूले थपडी बजाउने मौका समेत पाएका छन्। मुख्य कुरा त, वर्तमान समाज ब्यबस्थामा पीडितले न्याय पाउने कुरा कति जटिल छ र त्यसका लागि कति निर्दोषहरूले बलिदान हुनुपर्ने हो भन्ने गम्भीर प्रश्न खडा भएको छ।
यसअघि बाँकेदेखि नै कष्टकर पैदलयात्रा समेत गर्दै काठमाडौं आएर पीडितहरूले लामो धर्ना र प्रदर्शन गर्दा गृहमन्त्री र कानुनमन्त्री तहमा न्यायका लागि सहमति भएको थियो। तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले आरोपितमाथि अनुसन्धान गर्ने लिखित प्रतिबद्धता जाहेर गरेपछि पीडित अधिकारका लागि आमरण अनशनरत अधिकारकर्मी रुवी खानले, खाँडकै हातबाट जुस पिउदै अनशन तोडेकी थिइन्।
निर्मलाको अपहरण र हत्याका मुख्य आरोपित बादशाह कुर्मी हुन्, जो कांग्रेसबाट संबिधानसभा सदस्य थिए भने गत निर्वाचनमा प्रदेश सांसद समेत निर्वाचित भएका छन्। उनै बादसाह बिरुद्ध निर्मला अपहरण र हत्यामा बाँकेमा किटानी परेको बर्षौं भैसकेको छ।
नेपालगञ्ज उपमहागरपालिका- १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो। आफ्ना दुई छोरासंग बसिरहे पनि ०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाका दुबै छोराको रहस्यमय मृत्यु भएको थियो। त्यसपछि निर्मलाका श्रीमान र छोराको नाममा रहेको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए। लगत्तै बेपत्ता भएकी निर्मलाको हत्या भयो।
बादशाह कुर्मी, जसलाई निर्मलालाई बेपत्ता बनाएर मारेको उजुरी छ, उनैलाई बाँके क्षेत्र नम्बर ३ ‘२’ बाट टिकट दिदै प्रदेशसभामा निर्वाचित गरायो, कांग्रेसले। जबकि ०७८ कार्तिकमा कांग्रेस नेता एवम् तत्कालीन गृहमन्त्री खाँड स्वयंले बादशाहमाथि अनुसन्धान गर्न स्थानीय प्रशासनलाई लिखित निर्देशन दिएका थिए।
उल्टै बादशाहले माइतीघरमा धर्ना दिइरहेका महिलाका परिवारलाई भेटेर आन्दोलन छाड्न धम्की दिइरहेको समेत सार्वजनिक भएको छ।
क्याटेगोरी :
जनमञ्च,
समाचार
ट्याग : #breaking,
#nirmala kurmi