अबको तीन दिन मौसम सफा रहने
काठमाडौं । अबको तीन दिन मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी प्रदेश १ को केही ठाउँमा आंशिक वदलि हुने बताइएको छ ।
भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ । भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकरदूई ठाउँमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै पर्सि पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा सोमवार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौंमा माघको दोस्रो हप्तामै जाडो कम महसुस हुन थालेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोमा गर्मी महसुस गर्न थालिएको छ ।
बिहान र बेलुका केही चिसो भए पनि दिउँसो घाम चर्किने गरेको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने उच्चतम तापक्रम २२ दशमलव ८ डिग्री पुगेको छ । काठमाडौं उपत्यकामा उच्चतम तापक्रम बढ्दो छ ।
त्यस्तै दिपायलमा उच्चतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । दिपायलमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालगञ्ज र भैरहवामा पनि तापक्रम बढ्दो छ । नेपालगञ्जमा पछिल्लो २४ घण्टामा उच्चतम तापक्रम १९ दशमलव ८ र भैरहवामा २२ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । पोहोर माघमा माघको पहिलो हप्ता हिउँदे वर्षा भएको थियो भने माघको दोस्रो हप्ता चिसो नै थियो । सामान्यतया मंसिर १६ देखि फागुन मध्यसम्मसम्म हिउँदे वर्षाको समय मानिन्छ ।
नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको छ । तर यसपालि हिउँदे वर्षा र हिमपात कतै कतै फाट्टफुट्ट रुपमा मात्रै भएको छ । अहिले बिहान तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । अरु बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।
क्याटेगोरी :
समाचार