Techie IT
×
गृहपृष्ठसमाचारसीता एअरले दाङको टरीगाउँ विमानस्थलमा हप्ताको एक पटक उडान भर्ने

सीता एअरले दाङको टरीगाउँ विमानस्थलमा हप्ताको एक पटक उडान भर्ने


दाङ । सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताको एक पटक उडान भर्ने भएको छ ।

हिजो शुक्रवार टरीगाउँ विमानस्थलमा परीक्षण उडान गरेको सीता एअरले पहिलो चरणमा हप्तामा एक पटक दाङ–काठमाडौं उडान भर्ने जानकारी दिएको हो । हिजो दिउँसो १ बजे सीता एअरको १९ सिटे ९ ए–एजेएच विमानले परीक्षण उडान भरेको हो ।

सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए। ‘दुवैतर्फबाट अवतरण सहजै छ’, उनले भने, ‘यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ ।’ केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उनको भनाइ थियो । ‘यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ ।’

उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले बताए । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले ठूला जहाजले पनि उडान भर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाइएको हो । अहिले नेपाल वायु सेवा निगमको विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइतवार, मङ्गलवार, बिहीवार र शनिवार उडान हुने गरेको छ । टरीगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ ।

अहिले दाङबाट काठमाण्डौको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाण्डौबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस