Techie IT
×
गृहपृष्ठसाहित्य१७६७ आजकै दिन फिरंगीको नेतृत्व गर्दै कप्तान किनलक सिन्धुलीगढी हमला गर्न पटनाबाट हिँड्यो …

१७६७ आजकै दिन फिरंगीको नेतृत्व गर्दै कप्तान किनलक सिन्धुलीगढी हमला गर्न पटनाबाट हिँड्यो …


फिरंगीले कप्तान किनलकलाई काठमाडौंका राजा जयप्रकाश मल्लको मदत गर्न खटायो । २६ अगस्त १७६७ मा कप्तान किनलक भारतको पटनाबाट २४ सय सिपाही लिएर भदौको झरी र भेलमा नेपाल हान्न हिंड्यो । लगातारको झरीमा रुझ्दैभिज्दै ९ सेप्टेम्बरमा जनकपुर आइपुग्यो ।

किनलकले नेपाल अभियान डायरीमा लेख्यो –

दरभंगा, ६ सेप्टेम्बर । जासूसहरुले खबर दिएका छन्– जनकपुरदेखि सिन्धुलीसम्म बाटोका गाउँहरु उजाड छन् । जनकपुरमा मनग्गे रसद पाइन्छ भन्ने थियो, नपाइने भयो । गाउँलेहरु हामीलाई मदत गर्ने कि दुश्मनलाई भन्ने दुविधामा भएकाले गाउँ छोडेर वन पसेका छन् ।

जनकपु, १० सेप्टेम्बर । जनकपुरका मान्छेले लुकेका ठाउँबाट मलाई खबर पठाए– हामीहरु तपाईँलाई बाटोमा भेट्छौँ र तपाईँलाई आवश्यक हुने सबै कुराको हरसम्भव मदत गर्छौ ।

अनि मैले सेनालाई मार्च गर्ने अर्डर दिएँ ।

जनकपुरको डन्डे चौधरी फिरंगीको एजेन्ट थियो । उसले फिरंगीका नाल र आफ्नू नालको बलले उर्दी लाएपछि रसद किन्नुपरेन । उर्दीको भरमा जनकपुरबाट १२० गाडा रसद जम्मा भयो ।

किनलक जनकपुरबाट दश दिनपछि सिन्धुलीमाडी पुग्यो । फिरंगीहरु हात्ती, घोडा, चढेर आए । तोप पनि हात्तीमा लादेर ल्याए ।

कमला खोलाको जंघार ३२ ठाउँ तर्नु पर्थ्यो । कति ठाउँमा खोलो नै बाटो थियो । डन्डे चौधरीले पठाएको १२० गाडा रसद कमलाको बाढीले छेकेर चाहिने बेलामा सिन्धुली पुग्न सकेन ।

फिरंगीले सिन्धुलीमाडीभन्दा माथि तोप लैजान सकेन । बाटो भन्नु बाक्लो वनको बीचबाट गएको यौटा गोरेटो थियो । जसबाट एक पटकमा यौटा मान्छेभन्दा बढी हिंड्न सकिंदैनथ्यो ।

फिरंगीका पाँच कम्पनी फौज ढुंग्रेभन्ज्याङको बाटो गढीको उकालो लागे । गढीमुन्तिरको दक्षिण पाखामा जोडको लडाईं भयो । गोर्खालीले हानेको घुँएत्रोको ढुंगो टाउकामा लागेर लोगन भन्ने फिरंगी अफिसर नराम्ररी घाइते भयो । फिरंगी फौज भागेर फर्कियो । यो फिरंगीको पहिलो हार थियो ।

ढुंग्रेभन्ज्याङमा हारेपछि दुश्मनले तीनतिरबाट आक्रमण गर्यो । यौटा टोली धनमना खोलैखोला उकालो लाग्यो ।
उकालोभरि दुश्मनका बूटका तलुवा छेड्ने सोला थापेको थियो । बाटाभरि रुख ढालेर भाँजा हालेको थियो । ठाउँठाउँमा बाटो खनेर उक्लन नसक्ने बनाएको थियो ।

गोर्खालीका धनुबाट छुटेका वाणहरु र घुँएत्रोबाट छुटेका ढुंगाका पर्राले दुश्मनको सातो उड्यो । त्यसमाथि ठाडो भीरको टाकुराबाट गुडाइएका ठूलठूला ढुंगाले एकै पटक धेरैजसो जयान लिन्थे ।

किनलकले २७ सेप्टेम्बर १८२४ साल असोज १५ गते को डारीमा लेख्यो –

धनमनाको दुई कोस लामो डाँडो । कुनै पनि प्राणी पुग्न नसक्ने ठाडो भीरको टुप्पोबाट वर्षाएका ढुंगाले हाम्रा धेरै सिपाही घाइते भए । हाम्रो सिपाहीले न राम्ररी गोडा टेक्न सके, न ताकेर बन्दूक हान्न सके । त्यसमाथि बिरामी । लड्न सक्ने सिपाही निकै पातलिए । तोप लैजान पनि सकिएन । केही सिप लागेन । तेस्रो पटकको अक्रमणको प्रयत्न पनि त्यागेर फिर्ता हुन बाध्य भएँ ।

उसले एक सातासम्म ज्यान–प्राण दिएर लाग्दा पनि सिन्धुलीगढी जित्न सकेन । सिपाहीहरु भोक र तिर्खाले गलित–पलित भएर भाग्न लागे । कुनै जोड नचल्ने देखेर किनलकले हार मान्यो । आदेश दियो, फिरो ! फिरो!  फिरो!  फिरो…!!

सिपाहीहरुले हातहतियार फालेर बुर्कुसी मारे । त्यो देखेर गोर्खालीहरुको भोक–तिर्खा हरायो । जीउ चंगा भयो । बल बढेर दोब्बर भयो । घाइतेहरुले समेत जय गोरखाली, जय गोरखानाग भन्दै दपेटेका थिए । गोर्खालीले सक्दो लखेटे ।

फिरंगीले हारे । गोर्खालीले जिते । त्यसपछि ४७ वर्षसम्म फिरंगीले नेपाललाई जिस्क्याउने आँट गरेन ।

गोर्खालीले दुईवटा तोप, चार–पाँच सय नाल बन्दूक र खजाना हात लाए । ती तोपहरु अहिले पनि छन् ।

आजभन्दा १८१ वर्षअघि असोज १५ गतेको दिन सिन्धुलीगढीमा गोर्खालीले फिरंगीलाई हराएर भगाएका थिए । यो लडाईँमा गोर्खालीहरुले नजितेको भए नेपालको उही बेला भारतमा विलय हुने थियो । मल्ल राजाहरुले फिरंगीलाई सुम्पिसकेको नेपाललाई पृथ्वीनारायणले बचाए । उनले सिन्धुलीमा फिरंगीलाई र त्यसअघि मकवानपुरमा मीर कासिमलाई हराएर भगाउन नसकेको भए नेपालको इतिहास र भूगोल अर्कै हुने थियो ।

अरिंगालको गोला र सिस्नुको झाङको कुरा –

यो वनमा अरिंगालका गोला र सिस्नुको झाङ असाध्यै हुन्थे । गर्दनमाथि चार–पाँचवटा अरिंगालले चिले भने मान्छे मर्थे । यो बाटोमा अरिंगाल बिच्किएका छन् कि भनेर विचार गरेर हिंड्नुपर्थ्यो । गोठालाहरुले आफू बचेर अरिंगाल बिच्क्याउन सक्छन् । आफू कान्लोमुनि गुटमुटिन्छन् । अरिंगालले भेट्दैनन् । जो हिँडिराखेको देख्छ, त्यसैलाई झम्टन्छ ।

सिन्धुली महत्तवपूर्ण किल्ला भएकाले सिस्नुको झाङ र काँडाघारी जमाएर प्राकृतिक किल्ला बनाउने चलन निकै अघिदेखिको हो । यो बाटाका वनमा अरिंगालका गोला र गौंडागौंडामा सिस्नु र काँडाका झाङ जमाइराख्नू भन्ने सिन्धुलीगढीको नाउँमा भएको पृथ्वीनारायणको लालमोहर देखेका थियौँ भन्ने मान्छे पनि स्थानीय बुढापाकाहरुले देखे–सुनेका हुन् । सिन्धुलीगढी मुन्तिर भयंकर सोला थापेको र हालको सिन्धुली गढी प्रवेशद्वारा बनाएको वीपी राजमार्गको यस ठाउँलाई अचेल सोलान्ज्याङ भन्छन् ।

लडाई जित्ने सेनापतिहरुलाई राजाले के गरे ?

पृथ्वीनारायणले वंशराजलाई मूल काजी बनाएका थिए । तर प्रतापसिंहकी रानीको रापताप असह्य भएपछि उनी नेपाल त्यागेर हिँडे । रानीले उनलाई बोलाएर विना पुर्पक्ष काट्न लगायन् । काजी श्रीहर्ष पन्तलाई मुखको हाडसम्म देखिने गरी डामेर देशनिकाला गरिन् । तिनीहरको सर्वस्व पनि हरण भयो । सिन्धुली गढीका यी वीर सेनापतिको यस्तो गति भयो । वीरभद्र र वंसु गुरुङ पनि गुमनाम नै मरे ।

सिन्धुलीगढीमा फिरंगीलाई हराएको वर्ष दिन पछि पृथ्वीनारायण शाहले कान्तिपुर जिते । लगत्तै ललितपुर र एक वर्ष पछि भक्तपुर पनि जितेर तीन सहर नेपालका राजा भए । त्यसको छ वर्षपछि बितिहाले । त्यसपछि उनले लाएको मेलो भत्कियो ।

पृष्ठ संयोजन : फणीन्द्र फुयाल ज्वाला

(जगदीश घिमिरेको पुस्तक ‘सकस ‘बाट, तस्बिर : गुगलबाट साभार)

 

यो पनि पढ्नुहोस् ,

सिन्धुली गढीको युद्धबारे पृथ्वीनारायण शाहले भने…


क्याटेगोरी : साहित्य
ट्याग : #breaking, #hot, #prithvi narayan shah, #sindhuli, #sindhuli gadhi war, #फिरंगी

तपाईको प्रतिक्रिया दिनुहोस