(सहरमा यतिखेर अदुवा, बेसार र अन्य जडीबुटीको चर्चा छ । यतिमात्र होइन नेपाली भान्सा घरमा पाइने अचुक खान्कीले जस्तै महामारी पनि ‘छु मन्तर’ हुने इस्तिहार पनि जारी भैसकेको छ । यसैक्रममा तपशिलमा केही जडिबुटी र खान्कीको विषयमा पद्यमा जानकारी दिइएको छ । यसमा छुटेका भए लेखी पठाउनु होला यो पद्य ढाँचामा पुन समाबेस गरीकन यसलाइ पूर्णता दिइने छ ।)
अदुवा र बेसार अचुक
अदुवा खाउँ, बेसार खाउँ
मुला खाएर चैं बन पसौं
मरिच खाउँ, अलैची खाउँ
अदुवा खाएर शहर पसौं ।
जिरा खाउँ, धनिया खाउँ
टिम्बूर हालेर चटनी बनाउँ
मेथी खाउँ, ज्वानो खाउँ
यार्सागुम्बा खाएर सन्तान बढाउँ ।
चिरैतो खाउँ, कुट्की खाउँ
करेला र निमको जुस बनाउँ
जटामसी खाउँ, पाँचओंले खाउँ
झ्याउ लगाएर सज्जन बनौं ।
प्याज खाउँ, लसुन खाउँ
अकबरेको अचार बनाउँ
मह खाउँ, सक्खर खाउँ
बढी भए तितेपाती लगाउँ ।
मकै खाउँ, कोदो खाउँ
भटमास खाएर छारो उडाउँ
आलु खाउँ, पिँडालु खाउँ
बदाम खाएको धाक लगाउँ ।
दूध खाउँ, दही खाउँ
कपाल भए तोरी तेल लाउँ
भाङ् खाउँ, गाँजा खाउँ
देशलाइ अझै समृद्ध बनाउँ ।
साग खाउँ, निगुरो खाउँ
काँक्राको बीयाँ टीका लगाउँ
लौका खाउँ, फर्सी खाउँ
खसी खाएको धाक लगाउँ ।
हावा खाउँ, पानी खाउँ
चुपचाप क्वारेण्टनमा बसौं
राहत खाउँ, आहत खाउँ
जिन्दगीको भग्नाबसेस हेर्दै बसुँ ।
क्याटेगोरी :
साहित्य