काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिनसम्म बिजुलीको आपूर्ति ठप्प हुने

काठमाण्डौं, २९ भदौ । काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा आजदेखि तीन दिन बिजुलीको आपूर्ति ठप्प हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्न लागेकाले बिजुलीको आपूर्ति ठप्प हुने भएको हो ।
टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने गरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन आज बिहान ८ बजेदेखि सोमवार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै, ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन भोलि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन भोलि दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।
यसले गर्दा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, रिङ रोड, भैँसेपाटी फिडरका साथै टेकु सबस्टेसन तथा थापाथली, सुन्धाराबाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस