नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालयका अधिकृत खगेन्द्र सापकोटा पक्राउ

बाँके, २५ भदौ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडेल भने फरार भएको उनले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस