Techie IT
  • २०८० असोज १७, बुधबार

कृत्रिम खुट्टा जडानले जगाएको आशाः अब फेरि ३२ वर्षपछि घरब्यवहारका काममा लाग्नसक्छु भन्ने विश्वास जागेको छ


महोत्तरी, १९ भदौ ।  बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि टकटक हिड्दै छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–५ ढल्केवरका ८१ वर्षीय सूर्यदेव महतोले उत्साहित हुँदै  भने “बौवा, आब लगैय, जे ऐखनो किछ क सकैछी (बाबु, अब लाग्दैछ, अझै केही गर्नसक्छु)।”  बत्तीस वर्षअघि कुटानी पिसानी मिलको फित्तामा बेरिएर देब्रे खुट्टा गुमाएका उनले अब ग¥हुङ्गो काम गर्न नसकेपनि खेतबारी हेरचाह र घर ओरपरका काम सजिलै गर्नसक्ने बताए ।

“हेर्नुस न, केही अप्ठ्यारो छैन, सजिलै हिडीरहेछु सोमबार साँझ कृत्रिम खुट्टा जडानपछि केहीबेर हिँडेर देखाउँदै उनले भने, “अब फेरि ३२ वर्षपछि घरब्यवहारका काममा लाग्नसक्छु भन्ने विश्वास जागेको छ । ”

छिमेकि मुलुक भारतकी २५ वर्षीया कौशल्या पाण्डेलाई पनि बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि हिँड्न पाउँदा जीवनमा के केन पाए झैँ भएको छ । “मैले कहिल्यै सोच्न सकेकी थिइन, कुनै दिन दुबै गोडा चालेर हिडौँला भनेर”,  सोमबार नै बर्दिबासमा देब्रे गोडामा कृत्रिम खुट्टा जडानपछि पिता रघुवीर पाण्डेसँगै हिड्दै भेटिएकी उनले भनिन्, “अब लाग्दैछ, जीवनमा धेरै कुरा गर्न पाइन्छ र सकिन्छ ।” भारतको बिहारस्थित सीतामढी जिल्लाको सोनबरसा निवासी कौशल्याले मङ्गलबार बिहान कृत्रिम खुट्टा जडानका लागि बर्दिबास आइपुग्दा यहाँ नेपालीबाट पाएको स्नेह र आत्मीयताले उच्च मनोवलका साथ केही गर्नसक्छु भन्ने आँट बोक्दै घर फर्कन लागेको बताइन् ।

लाउँलाउँ खाउँखाउँको १८ वर्षे उमेरमा क्यान्सरले गाँजेर १८ वर्षअघि देब्रे गोडा काट्नुपरेका सर्लाहीको मलङ्गवा–३ का २६ वर्षीय रैजुल बैठाले कृत्रिम खुट्टा लगाएर मज्जाले हिड्न पाइएको  खुशीमा आँसुबाट आँसु झारे । “किशोर उमेरमै क्यान्सरले गाँज्यो, खुट्टा काटियो” उनले भने, “आज १८ वर्षपछि फेरि दुबै खुट्टा टेकेर हिँड्ने भएको छु ।”

महतो, पाण्डे र बैठासँगै सोमबार साँझसम्म नौ जनामा कृत्रिम खुट्टा र दुई जनामा कृत्रिम हात जडान गरिएका थिए । हात गोडा नहुँदा आफ्नो जीवन र परिवारजनका लागि बोझ बनिरहेका बेला कृत्रिम हातखुट्टा जडानले नयाँ आशा जगाएको सेवा लिनेले बताए ।

“सोमबार साँझ त खुट्टा हालियो, अहिले हेर्नोस् फटाफट हिँड्दैछु” पाँचथरदेखि खुट्टा जडानका लागि आएका सुवाङ्ग–५ का ६० वर्षीय सन्तबहादुर तामाङ्ले भने, “आफैँलाई बोझिलो लाग्दै आएको जीवनले फेरी नयाँ आस पलाइदियो ।” पाँच वर्ष पहिलेको सडक दुर्घटनाले दाहिने खुट्टा गुमाएका तामाङ्ले यो शिविर जीवनदायिनी बुटी भएको बताए ।

गत आइतबार सुरु भएको कृत्रिम हातखुट्टा जडान शिविरमा नौ जनाको कृत्रिम खुट्टा र दुईजनामा कृतिम हात जडान भइसकेको आयोजक संस्था रोटरी क्लव अफ बर्दिबासले जनाएको छ । अहिलेसम्म महतो, पाण्डे, बैठा र तामाङका अतिरिक्त महोत्तरीको पिपरा–३ का ७१ वर्षीय जुवियर पासवान, बारा जिल्लाको पर्सौनी–९ का ५२ वर्षीय भोला गोसाइँ, बाराकै जितपुर सिमरा–२१ का ५५ वर्षीय दिलिपकुमार झा, महोत्तरीको औरही–८ का ३६ वर्षीय राजदेव यादव र महोत्तरीकै बर्दिबास–१ का ३२ वर्षीय प्रदीप आचार्यमा कृत्रिम खुट्टा जडान गरिएको रोटरी क्लव अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए ।

त्यसैगरी सोमबार साँझसम्म धनुषाको मिथिला–२ का २३ वर्षीय रोशनकुमार महतो र महोत्तरीको औरही–६८ वर्षीय रामचन्द्र चौधरीमा पनि कृत्रिम हात जडान भइसकेको उनले जानकारी दिए ।  

“कृतिम हातखुट्टा जडानका लागि चार बांगलादेशी र दुई नेपालीसहित छ दक्ष प्राविधिक छन्, एक जनाको जडानमा दुई जना लाग्नुपर्ने र यो क्रम सम्पन्न हुन छ घण्टा लाग्दोरहेछ, त्यसैले दिनमा पाँचभन्दा बढीलाई सेवा दिन नसकिने रहेछ” अध्यक्ष गौतमले भने, “तर जति दिन लागोस्, खुट्टा जडानका लागि आउने कोही त्यसै फर्कने छैनन्, कृतिम हातभने यो शिविरमा पर्याप्त छैन, १२ जनालाईमात्र यो सेवा दिन सकिन्छ ।” अहिलेसम्म खुट्टा जडानका लागि ९० जनाको नाम दर्ता भएको र ती सबैलाई दर्ता क्रमअनुसार जडान मिति तोकेर बोलाइने उनको भनाइ थियो।

कृत्रिम हातखुट्टा जडानमा रोटरी क्लव अफ वीरगञ्जका दुई र नूतन कदम (नयाँ खुट्टा) ट्रष्ट बंगलादेशका चार दक्ष प्राविधिक छन् । शिविरमा रोटरी क्लव अफ जयपुर भारतको प्रविधिमा बनेका गुणस्तरीय कृतिम हातखुट्टा प्रयोग गरिएकोे जनाइएको छ ।

शिविर आयोजनाबारे एक महिना पहिले तालिका बनाएर पत्रकार सम्मेलन गरिएपछि टाढाटाढासम्म सूचना पुगेको आयोजक क्लवको ठम्याइ छ । शिविरमा सेवाका लागि मधेश प्रदेशका जिल्लामात्र नभएर पूर्वी नेपालका सोलुखुम्बु, ताप्लेजुङ्ग, पाँचथर र पश्चिमको दाङ जिल्लाका सेवाग्राहीले नाउँ दर्ता गराएका अध्यक्ष गौतमले बताए । यसैगरी वागमती प्रदेशका बिभिन्न जिल्ला र मित्रराष्ट्र भारतको बिभिन्न जिल्लाका बासिन्दाले पनि कृतिम हातखुट्टा जडानका लागि नाम दर्ता गराएका छन् ।

“हामीले मानवीय सेवाको यो शिविरमा जाति, क्षेत्र, भाषा, धर्म र राष्ट्रियताको सर्त राखेका छैनौ, संसारका जहाँसुकैका जोसुकै होउन्, हामीले सेवा गर्न पाउँ भनेका छौँ” अध्यक्ष गौतमले भने, “शिविरमा प्राप्त भइरहेको समर्थन र सहयोगले उत्साह थपेको छ ।”

आयोजक रोटरी क्लवले यसअघि १० दिन शिविर चलाइने भनेपनि सेवाग्राहीको बढ्दो सङ्ख्याले अब सम्पर्कमा आएका सबैलाई सेवा दिनेगरी दिन थपिने स्पष्ट पारेको छ । शिविरमा बंगलादेशी चार प्राविधिक पनि यहाँको आत्मीय ब्यवहार र हेलमेलबाट उत्साही छन् । नूतन कदम ट्रष्टका प्राविधिक टोली प्रमुख नजमुल हशनले नेपालीसँगको हेलमेल र आत्मीय ब्यवहारले बढीभन्दा बढी काम गर्न ऊर्जा प्राप्त भइरहेको बताए । रासस 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट