बाँकेमा सशस्त्र प्रहरी र तस्करबीच झडप, तीन जना घाइते

बाँके, १५ भदौ । बाँकेमा सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरूसँग झडप भएको छ । उक्त झडपमा परी दुई जना सशस्त्र प्रहरी र एक जना स्थानीय घाइते भएको सशस्त्र प्रहरी सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
नेपालगंज उपमहानगरपालिका १६, चौलिका चोकबाट १४ भदौ राति साढे ९ बजे बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो । हार्डवयरका ती सामानको पूरा भन्सार तिरेको नपाइएपछि बरामद गरिएको डीएसपी थापाले जानकारी दिएका छन् ।
तर, भन्सार छलेर ल्याइएका ती सामान फिर्ता पाउनु पर्छ भनि ल्याउने व्यक्तिहरू र स्थानीय करीब १ सयदेखि १२० जना भेला भएर सशस्त्र प्रहरीमाथि हुलहुज्जत गरी सामान खोसेर लैजाने प्रयास गरेको थापाले जानकारी दिए ।
त्यसपछि सोही गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र बीओपी जयसपुरबाट थप मद्दतका लागि ७१ जनाको थप सुरक्षा फौज खटिएको थियो । त्यसपछि उनीहरू फिर्ता भएकोमा सामान ल्याउने व्यक्तिहरूले पुनः राति साढे १० बजे सोहि स्थानमा पुगेर सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । आक्रमण गरी भाग्ने क्रममा सोही स्थानका १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका थापाले बताए ।
उनीहरूको आक्रमणमा परी बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका डीएसपी थापाले जानकारी दिएका छन् । यस्तै ना १ झ ५७४ नम्वरको गाडीमासहित अन्य केही सामानमा पनि क्षति पुगेको थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस