पश्चिमाहरू अन्तरिक्ष युद्ध गर्न खोजेको रुसको आरोप
काठमाडौं ।रुसको अन्तरिक्ष नियोग रोसकसमसका निर्देशक दमित्री रोगोजिनले पश्चिमा निजी कम्पनीहरूले युक्रेनका लागि डेटा सङ्कलन गरिरहेको दाबी गरेका छन् ।
रसिया ट्वेन्टी फोरसँगको अन्तर्वार्तामा रोगोजिनले अमेरिकी कम्पनी लकडिड मार्टिन, बोइङ, स्पेसएक्स र अन्य कम्पनीहरूले वास्तविक समयका सूचना सङ्कलन गरी युक्रेनलाई दिने कार्यमा संलग्न रहेको बताए ।
रिअल टाइमका सङ्कलित डेटाहरू क्षेप्यास्त्र आक्रमण र एकै पटक धेरै रकेटप्रहार गर्ने कार्यलाई उपयोग हुने गरी युक्रेनलाई दिन खोजिएको उनले जनाए ।
यो डेटा स्याटेलाइट सञ्चार कम्पनी स्टारलिङ्क जस्ता कम्पनीले उपयोग गर्ने गरेको रोसकसमस प्रमुखले बताए ।
रुसी स्याटेलाइटहरूले युक्रेनको भूमिमा निगरानी राख्न सक्षम रहेका छन् भनी सोधिएको प्रश्नको जवाफमा रोगोजिनले भने “निसन्देह यसो गर्न सक्षम छन् ।”
अमेरिकाको साइबर कमाण्डका जनरल पाउ नाकासोनेले अमेरिकी सेनाहरूले युक्रेनलाई सहयोग गरिरहेको पहिलो पटक स्वीकार गरेपछि रोगोजिनको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।
तर नाकासोनोले यसबारे विवरण खुलाएका थिएनन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
विज्ञान
ट्याग : #breaking