काठमाडौ । अमेरिकी डलर दुई वर्ष यताकै कमजोर अवस्थामा पुगिरहँदा सुनको भाउ बढेर प्रति आउन्स २ हजार अमेरिकी डलर नाघेको छ ।
मंगलबार सुनको भाउमा आएको चढावले निरन्तरता लिने विश्लेषकहरूको बुझाइ रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा १.१ प्रतिशतले बृद्धि भइ प्रति अउन्स २ हजार १५ अमेरिकी डलर बराबर पुग्यो । यो एक साता यताकै उच्च मूल्य हो । लगानी गुरूको रूपमा चिनिएका वारेन बफेटको बर्कशायर हाथवेले सुन खानी कम्पनी ब्यारिक गोल्ड कोरपोरेसनको शेयर खरिद गरेपछि मूल्यमा बृद्धिभएको कतिपयको बुझाइ छ ।
अमेरिकी डलर विश्वभर चल्ने मुद्राको रूपमा स्थापित मुद्रा हो । विश्वभर अमेरिकी डलर र युरोपियन युनियनको युरो लोकप्रिय र स्वीकार्य रहेको छ । विश्वभरका केन्द्रीय बैंकमा स िञ्चत मुद्रा भण्डारको रूपमा ६४ प्रतिशत अमेरिकी डलर हुने गरेको छ ।
अमेरिकी डलरको बलियोपना अमेरिकी अर्थव्यवस्थाको ताकतको प्रतिक रहेको छ ।
इन्टरनेशनल स्टयानडर्ड अर्गनाइजेशन लिस्टका अनुसार विश्वभर १८५ मुद्रा छन । यसमा अधिकांश मुद्राको प्रयोग त्यो देशको सीमा भित्रै हुने गरेको छ । मुद्राको अर्थव्यवस्थाको ताकतको आधारमा त्यो देशको मुद्राको चलन कायम हुने गर्छ ।
अमेरिकी डलर पछिको दोस्रो बलियो मुद्रा युरो हो । यो विश्वका केन्द्रीय बैंकमा १९.९ प्रतिशतसञ्चित रहने गरेको छ । ६५ प्रतिशत डलर सञ्चितिले अमेरिकी अर्थव्यवस्थाको बलियोपनालाई दर्शाउँछ ।
विश्वभरको व्यापारमा ८५ प्रतिशत डलरको संलग्नता हुन्छ । अमेरिकी डलरमाथिको व्यापारिक निर्भरता कम गर्न रूस र चीन मिलेर काम गरिरहेको देखिएको छ । यी दुई देशले स्थानीय मुद्रामा व्यापार गर्न सहमति गरेका छन। यी दुई देशबीच वित्तीय गठबन्धन हुन सक्ने सम्भावना बढेको कतिपय विज्ञको भनाइ रहेको छ ।
यस्तोमा लगातार सुनको मूल्यमा बृद्धि भइरहनु र डलर कमजोर हुँदै जानुलाई अमेरिकी डलरको चिहानमा सुनको मूल्य बढेको बताउन थालिएको छ ।
कतिपयले अब विश्व व्यापारमा डलरको वर्चस्व समाप्त हुने अडकल गरिरहेका छन् । यो भनेको अमेरिकी वर्चस्व कमजोर हुनु हो ।
विश्लेषकहरूका अनुसार चीनसँग अमेरिकाले व्यापार युद्ध सञ्चालन गरिरहनुको पछाडि आफ्नो वर्चस्व कायम राख्ने निहित स्वार्थ मात्र हो । बदलिदो विश्वको अर्थराजनीतिक संरचनालाई स्वीकार गर्न नसक्नु अमेरिकी हठको परिणाम चीनसँगको व्यापार युद्ध लम्बिदै गएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking