Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअस्ट्रेलियामा कोरोना महामारीको खतरा झन् बढ्यो

अस्ट्रेलियामा कोरोना महामारीको खतरा झन् बढ्यो


मेलबोर्न । कोरोना भाइरसको महामारी सुरु भएयता अस्ट्रेलियामा आइतबार पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ ।
पछिल्लो मृत्यु समेत हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा भिक्टोरिया राज्यमा ४५० जना नयाँ संक्रमित भेटिएका छन् । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका १० जनाको मृत्यु भएको जानकारी दिए । तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो ।
अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमित संख्या करिब १४ हजार छ । तर अस्ट्रेलियामा देखिएको कोरोना भाइरसको दोस्रो लहरले सरकारमाथि दबाब बढेको छ । सरकारले मेलबर्नमा गरेको लक डाउन दोस्रो साता पुगिसकेको छ । तर संक्रमितको संख्या अझै बढेको छ ।
मास्क अनिवार्य गरिएको छ भने भिक्टोरिया राज्यलाई अस्ट्रेलियाका अन्य शहरबाट अलग गरिएको छ अर्थात् सम्पूर्ण आवतजावत बन्द गरिएको छ । प्रहरी र सेनाले राज्यका सीमाहरुको निगरानी गरिरहेका छन् भने अन्य राज्यबाट आफ्नो घर फर्कनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । तैपनि, आइतबार मात्र भिक्टोरियामा ४५९ नयाँ संक्रमित भेटिएका छन् । गत शनिबार पनि यहाँ ३५७ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस