युरोपेली मुलुकहरुमा कोरोना भाइरस संक्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले चासो देखाउदै संक्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्था अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ ।
युरोपमा ३० लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मृतकको संख्या पनि थप वृद्धि भइरहेको उनीहरुको भनाइ छ । युरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्याधिक प्रभावित रहेका भए पनि पछिल्लो समयमा ती मुलुकहरुमा संक्रमण केही घट्दो क्रममा नै रहेको देखिन्छ ।
यद्यपि, महामारी नियन्त्रणमा भने आइसकेको छैन । तर अन्य केही मुलकमा भने संक्रमण थप फैलिएको छ । पूर्व सोभियत संघबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्थान कोरोनाको महामारीबाट सबैभन्दा बढी ग्रसित भएको छ । त्यसैगरी, मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि पछिल्ला दिनहरुमा धेरै प्रभावित देशमा पर्दछन् ।
डब्लुएचओकी एक जना प्रवक्ताले भने, “पछिल्लो समय कतिपय देशहरुमा संक्रमितको संख्या झन् झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।” गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना संक्रमित थपिने गरेको पनि ती अधिकारीले जानकारी दिए
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #Corona