Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोरोना विरुद्धको चिनियाँ खोप सन् २०२० को अन्तिमसम्ममा आउने

कोरोना विरुद्धको चिनियाँ खोप सन् २०२० को अन्तिमसम्ममा आउने


कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनाइरहेको चिनियाँ कम्पनी सिनोफर्मले यस वर्षको अन्तिमसम्ममा खोप प्रयोगको लागि तयार हुने बताएको छ ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले दिएको जानकारी अनुसार कम्पनीले यसअधिको अपेक्षाभन्दा पहिला नै सार्वजनिकरुपमा प्रयोगको लागि खोप तयार हुने जनाएको हो ।

सिनोफर्मका अध्यक्ष लिउ जियाङले कम्पनीले अहिले मानिसमा चलिरहेको अन्तिम चरणको परीक्षण तीन महिनामा सकिने अपेक्षा गरेका छन् । सिनोफर्मको एकाइ चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी)ले अहिले कोरोना भाइरसविरुद्धको खोपको दुई प्रोजेक्टमा काम गरिरहेको छ । गत जुन महिनामा सीएनबीजीले सन् २०२१ सम्म खोप आउन नसक्ने बताएको थियो । चीनमा पर्याप्त कोरोना भाइरसका संक्रमित नरहेको कारण खोपको परीक्षणमा समस्या हुन सक्ने कम्पनीको भनाइ थियो ।

यद्यपि चीनले कोरोना भाइरसविरुद्धको परीक्षणको लागि वैकल्पिक स्थानको रुपमा अन्य मुलुकमा परीक्षण गरिरहेको छ । सिनोफर्मको कोरोनाविरुद्धको खोपको परीक्षण अहिले तेस्रो चरणमा प्रवेश गरेको छ । यो चरणको परीक्षण यूएईमा भइरहेको छ । यो चरणमा १५ हजार मानिसमा खोपको परीक्षण गरिनेछ ।

अर्को चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले सोही किसिमको प्रविधिको प्रयोग गरेर निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको पनि तेस्रो चरणको परीक्षण चलिरहेको छ । सिनोभ्याकले आफ्नो तेस्रो चरणको परीक्षण ब्राजिलमा गरिरहेको छ ।

कोरोना भाइरसविरुद्ध क्यानसिनो बायोलोजिक्स इंक र चिनियाँ सैन्य अनुसन्धान एकाइले संयुक्तरुपमा निर्माण गरेको खोपको पनि पहिलो र दोस्रो चरणको परीक्षणमा सकारात्मक अनुसार आएको बताइएको छ । साथै यो खोपको लागि पनि चीनभन्दा बाहिर तेस्रो चरणको परीक्षणको लागि तयारी भइरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस