Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

हङकङबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द


काठमाण्डौ, १० असार । हङकङबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द भएको छ । प्रजातन्त्र पक्षधर मानिएको पत्रिका हङकङ सरकारको दमनका कारण बन्द भएको बीबीसीले जनाएको छ ।

आज निकालिएको अन्तिम अङ्कको पहिलो पृष्ठमा कर्मचारीहरूले बिदाइको हात हल्लाउँदै गरेको तस्बिर छापिएको छ । पत्रिकालाई बिदाइ गर्न बुधबार हिजो राति हजारौँ मानिस पत्रिकाको कार्यालय अगाडि भेला भएका बीबीसीले जनाएको छ । पत्रिकाले अन्तिम अङ्कको १० लाख प्रति छपाएको बताएको छ ।
पत्रिकाको कार्यालयमा गएको हप्ता हङकङका अधिकारीहरूले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको अधिकारीहरूले दाबी गरेका छन् ।

सन् २०१९ मा हङकङमा भएको सरकार विरोधी आन्दोलनमा सहभागी भएका पत्रिकाका मालिक जिम्मी लाई केही समयअघि हङकङमा लागू भएको राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका छन् । लाईको सम्पत्ति जफत गरेर १४ महिना जेल सजाय सुनाइएको छ ।

पत्रिकाको सबै बैंक खाता सरकारले यसअघि नै रोक्का गरिसकेको छ । एप्पल डेलीका साथै नेक्स्ट म्यागजिन र डिजिटल संस्करण पनि बन्द गरिएको कम्पनीले जनाएको छ । अनलाइन संस्करणमा पत्रिका बन्द गरिएको सूचना मात्रै राखिएको छ । पुराना सामग्री पनि हटाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #apple daily 1, #breaking

प्रतिक्रिया


ताजा अपडेट