Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियब्राजिलका पूर्व राष्ट्रपति लुलालाई भ्रष्टाचार अभियोगमा अदालतबाट सफाइ

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई भ्रष्टाचार अभियोगमा अदालतबाट सफाइ


काठमाडौ । ब्राजिलका पूर्व बामपन्थी राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भालाई त्यहाँको संघीय अदालतले प्रमाणको अभावमा भ्रष्टाचार अभियोगमा सोमबार सफाइ दिएको छ ।

सन् २०१७मा लुला विरूद्ध राजनीतिक पदको फाइदा उठाइ अटोमोबाइल कम्पनीहरूबाट लाखौं अमेरिकी डलर बराबरको लेनदेन गरेको अभियोग लगाइएको थियो । उनको वर्कर्स पार्टीका लागि सो रकम लिएको भनी अभियोग लगाइएको थियो । लुलासँगै अन्य पदाधिकारीहरू विरूद्ध भ्रष्टाचारको मुद्दा लगाइएको थियो ।

तर संघीय अदालतका न्यायाधीश फ्रेडेरिको भियानाले लुला विरूद्ध लगाइएको मुद्दामा कुनै प्रमाण नरहेको बताउँदै उनलाई सोमबार सफाइ दिए । लुलासँगै सबैलाई सफाइ मिलेको हो ।लुलाका अतिरिक्त उनका पूर्व सेनापति गिल्बर्टो कारभाल्होसहित पाँच अधिकारी र व्यापारीहरूलाई न्यायाधीशले सफाइ दिएका हुन् ।

अदालतको फैसलाले उनलाई विद्यमान राष्ट्रपति जैर बोल्सोनारो भन्दा बढी लोकप्रिय बनाएको छ ।

यसअघि अदालतले लुला विरूद्धका सजायलाई हटाइदिएको थियो । त्यसपछि राष्ट्रपति पदको चुनावका लागि मार्चमा अदालतले गरेको सो फैसलाबाट लुला योग्य हुन पुगेका थिए । सन् २०२२मा हुने राष्ट्रपतिको चुनावमा भाग लिने घोषणा नगरेपनि पहिलो चरणबारे गरिएको मत सर्वेक्षणमा लुलाको लोकप्रियता ४१ प्रतिशत देखिएको छ भने बोल्सोनारोको २३ प्रतिशत रहेको छ ।

लुलाको कार्यकालमा ब्राजिलले द्रुतगतिमा आर्थिक वृद्धि गरेकाले अझ उनको लोकप्रियता उच्च रहेको छ । सन् २००३ देखि २०१०सम्म उनले करोडौं मानिसलाई गरिबीबाट निकालेका थिए । कल्याणकारी कार्यक्रम ल्याएर उनले गरिबी रेखामुनि रहेकालाई बाहिर निकालेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस