कारोनालाई ‘हेपेका’ ट्रम्पले अन्ततः मास्क लगाए
कठमाण्डौ, २८ असार । कोरोनालाई ‘चीनियाँ भाइरस’ र अमेरिका लक डाउन गर्नका लागि बनेको होइन भन्दै अभिब्यक्ति दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक स्थलमा पहिलोपटक मास्क लगाएका छन् ।
घाइते सिपाही तथा स्वास्थ्यकर्मीहरुको उपचार भइरहेको वाल्टर रिड सैन्य अस्पताल पुग्दा ट्रम्पले मास्क लगाएका हुन् । मास्क लगाएपछि उनको फेरि चर्चा सुरु भएको छ ।
उनी पहिलेदेखि नै मास्क लगाउने विषयलाई लिएर विवादमा आएका थिए । उनले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्दी नेता जो बिडेनले मास्क लगाएको बारेमा समेत ठट्टा गरेका थिए ।
तर शनिबार सैन्य अस्पताल पुग्दा भने उनी कालो मास्कमा देखिएका थिए । ह्वाइट हाउसबाट अस्पतालतिर जाने क्रममा उनले आफू कहिल्यै पनि मास्कको विरोधमा नभएको र हरेक कुराको निश्चित समय र स्थान हुने बताएका थिए । शनिबार उनले मास्क बारेमा सधैंको भन्दा फरक अभिव्यक्ति दिए । उनले भनेका छन्, ‘मलाई लाग्छ, जब तपाईं अस्पताल अथवा कुनै निश्चित क्षेत्रमा धेरै मानिससँग कुरा गर्नुहुन्छ भने त्यो समयमा मास्क लगाउनु निकै जरुरी हुन्छ ।’
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #hot