Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसीआईए लगाएर निकारागुवाको विकास विनास गर्न खोज्दै अमेरिका

सीआईए लगाएर निकारागुवाको विकास विनास गर्न खोज्दै अमेरिका


निकारागुवामा सन् २००६को निर्वाचनमा स्यान्डिनिस्टाहरूले जिते यता अगाडि बढाएको गरिबी विरोधी नीतिले व्यापक सफलता पाएको छ । खाद्यमा ९० प्रतिशत देशभित्रैको उत्पादनमा निर्भरता रहेको छ । ९९ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ । ७० प्रतिशत बढी हरित ऊर्जा उत्पादन हुन्छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय विकास बैंक र सेन्ट्रल अमेरिकन बैंक फर इकोनोमिक इन्टेग्रेसन जस्ता अन्तर्राष्ट्रिय वित्तीय प्रतिष्ठानहरूले पनि निकारागुवाको धेरै राम्रो प्रदर्शन र असरदार परियोजनाको कार्यान्वयन गरेकोमा प्रशंशा गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याटिन अमेरिकी देशहरूमा एक सर्वोत्तम स्वास्थ्य प्रणाली यहाँ रहेको जनाएको छ र कोभिड–१९ मृत्यु दर विश्वमै सबैभन्दा कम रहनेहरूमा एक रहेको छ । राजनीति र मन्त्री बन्ने दुवै शर्तमा निकारागुवा नोर्डिक देशहरूपछिको पाँचौं लैङ्गिक समानता भएको देश हो ।

स्यान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चा वा एफएसएलएन वा स्यान्डिनिस्टाले चिनिनेहरूले निर्वाचनबाट जितेर आए यता यहाँ यस्तो विकास भएको हो । सन् २०११ र २०१६मा चुनाव जितेर गरेको विकासले नोभेम्बर ७ मा हुने राष्ट्रपतीय निर्वाचनमा यो दलले फेरि बलियो जीत हात पार्ने देखिएको छ । ७० प्रतिशत मतदान भए ६० प्रतिशत मत स्यान्डिनिस्टाहरूले पाउने सर्वेक्षणहरूले देखाएका छन् । ९५ प्रतिशतलाई मतदाता परिचयपत्र प्राप्त छ । अमेरिकाले करिब दुई सय वर्षदेखि यहाँ युद्ध थोपरेको छ । तर, यो देशले सफलता पाएको १४ वर्षभित्र हो ।

अमेरिकाले यहाँको स्यान्डिनिस्टा सरकारलाई सन् २०१८मा अपदस्थ गर्न सीआईएले सबै तयारी गरेको भए पनि अपदस्थ गर्न सकेको थिएन् । सीआईएले यहाँ अमेरिकी एजेन्ट परिचालन गरे । यसका लागि पत्रकार, मानव अधिकारवादी, मिडिया हाउस जस्ता क्षेत्रमा आर्थिक सहयोग गरेर, अमेरिकी अनुदान सहयोग गर्ने नियोगको माध्यमबाट निकारागुवामा स्यान्डिनिस्टालाई हटाउन प्रयास गरिरहेको छ ।

अमेरिका निर्देशित १७ वर्षे सरकार समाप्त हुने गरी सन् २००६ मा स्यान्डिनिस्टाले चुनाव जिते यता अमेरिकाले प्रचारतन्त्रको विकास गरेको छ । अखबार, म्याग्जिन, टेलिभिजन स्टेसन, रेडियो स्टेसन, वेबसाइटस, न्युज नियोग र सामाजिक सञ्जालका पेजहरू बनाएर स्यान्डिनिस्टा विरोधी प्रचारबाजी र फेक न्युज प्रसारणको काम गर्न लगाइएको छ । यसमा युएसएड, नेड र आईआरआई जस्ता अमेरिकी प्रतिष्ठानहरू क्रियाशील रहेका छन् । यसमा चामोरो परिवारले चलाएको मिडिया विशेष उल्लेखनीय रहेको छ ।

सन् २०१४ देखि २०१७ सम्म ४२ लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग अमेरिकी सरकारले मिडियामा गरेको थियो । नागरिक समाज र लोकतन्त्रवादी समर्थक समूहको नामबाट यस्तो कार्य गरिएको हो ।

पत्रकार विलियम ग्रिग्सवेको समाचार विश्लेषण संस्था सिन फ्रोन्टेरासले जुन २मा अमेरिकी दस्तावेज सार्वजनिक गरी सीआईएले एक करोड ६७ लाख अमेरिकी डलर सन् २०१८ मा सत्ता पलटका लागि रकम पठाएको जनाएको छ । फेब्रुअरी २०१७ देखि जुलाई २०१८ सम्म सत्ता पलटका लागि भाओलेटा बारिओस डे चामोरो फाउन्डेसनको माध्यमबाट यो रकम वितरण गरिएको थियो । पूर्व राष्ट्रपति चामोरोको नाममा यो संस्था खोलिएको र यसको निर्देशक उनकी छोरी क्रिस्टिना चामोरो रहेकी छिन् । सन् १९८० देखि अमेरिकाले प्रो कोन्ट्रा प्रचारबाजीका लागि मिडिया सञ्चालन गरी आएको छ । चामोरो परिवारको सत्तामा हालीमुहाली रहेका बेला सरकारी सम्पतिको बिक्री मन लाग्दी ढंगले गरिएको थियो । अमेरिकाले दिएको सो रकमका अतिरिक्त चामोरो फाउन्डेसनलाई युरोपियन सरकारबाट पनि छ लाख ७९ हजार पाँच सय ३० युरो बराबरको सहयोग सोही अवधिमा प्राप्त भएको थियो । यो सत्तापलटको प्रयासका बेला दुई सय भन्दा बढी परिवार ज्यान गुमायो भने हजारौंलाई मानसिक आघात पुग्यो र एक लाख ३० हजारले रोजगार गुमाउनुपर्ने भयो ।

फाउन्डेसनका निर्देशक क्रिस्टिना चामोरालाई मनी लन्ड्रिङको अभियोगमा २ जुन २०२१मा घरमै नजरबन्द गरियो ।

ग्रिग्सवे र लिबर पार्टीको समाचार विश्लेषण आधारमा ७० लाख अमेरिकी डलर बराबरको तीन व्यक्तिगत खाता क्रिस्टिनाले बन्द गर्न लगाएकी थिइन ।

सीआईएले दिएको एक करोड सतसट्ठी लाख अमेरिकी डलरबाट केही रकम अन्य गैरमुनाफा संस्था र मानवअधिकारवादी संस्थाहरूलाई दिइएको थियो ।

निकारागुवामा स्यान्डिनिस्टाको विरोधमा न्युयोर्कका अर्बपति जर्ज सोरासको फाउन्डेसनले पनि गलत समाचार प्रसारका लागि लाखौं अमेरिकी डलर बराबरको रकम बाँड्ने गरेको देखियो ।

सन् २००६मा स्यान्डिनिस्टाले चुनाव जितेपछि त्यसलाई अपदस्त गर्न युएसऐटले १६करोड अमेरिकी डलर एजेन्ट र एजेन्ट संगठनहरू मार्फत खर्च ग-यो ।

ग्रिग्सवेले सार्वजनिक गरेको अमेरिकी दस्तावेजमा यसको विवरण उपलब्ध रहेको छ । सन् २०१८को सत्तापलट भन्दा अघि मात्रै तीन करोड अमेरिकी डलर वितरण गरिएको थियो ।

हालै सार्वजनिक रिटा जिल क्लार्क गोलुबका आलेखमा निकारागुवामा अधिकांश जनता सीआईएले दिने गरेको समाचारबाट जानकारी पाउने गरेको उल्लेख गरेकी छिन् ।

अगस्ट २०२०मा विलियम ग्रिग्सवेले युएसएडको दस्तावेज दुतावासबाट चुहाएका थिए । रेस्पोन्सिभ एक्सन इन निकारागुवा संक्षेपमा रेनको माध्यमबाट अमेरिकाले अस्थिरता मच्चाउने योजना बनाएको सो दस्तावेजमा खुलेको छ ।

रेनले गर्ने कामहरूमा पहिलो स्वतन्त्र, निष्पक्ष र पारदर्शी चुनावबाट संक्रमण पूरा गर्ने, दोस्रो संकट निर्माण गरी सत्तापलट गराउने र तेस्रो संक्रमण पूरा नभए आन्तरिक र अन्तर्राष्ट्रिय दबाब दिने कामहरू रहेको देखिएको छ ।

रेनको दस्तावेजले अमेरिकी सरकारले सन् २०२१मा स्यान्डिनिस्टा चुनाव ठूलो अन्तरले जित्ने विश्वास गरेको दर्शाउँछ । यसलाई बिथोल्न फेक न्युज मिडिया र संस्थाहरूको परिचालन गरिएको थियो ।

जुनमा भएको गिरफ्तारीपछि सानो प्रदर्शनसम्म देखिएको छैन । १९ वैधानिक राजनीतिक दलहरूले नोभेम्बरमा हुने चुनावका लागि तयारी गरिरहेका छन् ।

अमेरिकाले करोडौं अमेरिकी डलर बराबरको रकम त्यहाँ दुरुपयोग गरिरहेको छ, जहाँ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले राम्रो विकास गरिएको प्रशंसा गरिरहेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस