Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएसिया प्रशान्त क्षेत्रका देशहरू समस्यामा, अमेरिकीहरू उत्सवमा

एसिया प्रशान्त क्षेत्रका देशहरू समस्यामा, अमेरिकीहरू उत्सवमा


सुरुमा कोरोनाभाइरसलाई एक्ल्याउने अभियानमा एसिया प्रशान्त क्षेत्र अगुवाइ गरिरहेको देखिए पनि अहिले दौडको अन्तिम बिन्दुमा पुग्न अझ धेरै पछाडि परेको देखिएको छ ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी समस्यामा परेको अमेरिकाले खोप वितरण गरेर हाइसञ्चोको अवस्थामा पुगेको देखिएको छ भने पूर्वका देशहरूमा समस्या गाँज्दै गएको देखिएको छ । विभिन्न बन्देजका साथै लकडाउन लगाउनुपर्ने अवस्था अझै कायमै रहेको छ ।

चीनकै कुरो गर्ने हो भने दक्षिण चीनमा डेल्टा भ्यारियन्टले प्रमुख औद्योगिक क्षेत्रको राजधानीको रूपमा चिनिएको गोञ्जाओमा गत साता लकडाउन गर्नुपर्ने देखियो । ताइवानका अतिरिक्त भियतनाम, थाइल्यान्ड र अस्ट्रेलिया मात्रै बन्दाबन्दीको चेपेटामा परेनन् जापानमा चौथो चरणको संक्रमणको लहरको असर देखिएको छ । यहाँ आयोजना हुने ओलम्पिक फेरि खतरामा पर्ने देखिएको छ ।

कोरोनाभाइरसको महामारीले यो क्षेत्रलाई आर्थिकरूपले समस्या पारेको देखिएको छ । यस क्षेत्रका अधिकांश देशहरूका अर्थतन्त्रमा ठूलो समस्या पहिलो चरणमा देखिएको थियो । तर, अझ पनि करोडौं मानिसहरूलाई अझै चीनदेखि न्युजिल्यान्डसम्म खोप दिन बाँकी रहेको छ । नयाँ भ्यारेन्टको समस्याले यो क्षेत्रलाई तर्साइरहेको छ ।

अस्ट्रेलियाको डोहर्टी इन्स्टिच्युट इन मेलबर्नमा खोप तथा रोग प्रतिरोधीसम्बन्धी अनुसन्धान समूहका प्रमुख टेरी नोलानले हरेक मानिस यो समस्याबाट मुक्ति पाउन चाहेको तर यसको समस्या भनेको खोपको पर्याप्त उपलब्धता समस्या रहेको बताए ।

भियतनाम, ताइवान र थाइल्यान्ड लगायतमा खोप अभियान जारी रहेको छ भने चीन, जापान, दक्षिण कोरियार र अस्ट्रेलियामा हालका साताहरूमा खोप दिने काम धेरै भएको देखिएको छ । अन्य देशहरूमा खोप दिन प्रस्तावसम्म गरिएको छैन ।

समग्रमा भन्नु पर्दा एसिया प्रशान्त क्षेत्रका देशहरू समस्यामा रहेको बेला अमेरिकीहरूले नयाँ बिहानीको उत्सव मनाइरहेको अनुभव गरिरहेका छन् । तर, एसियाको चार अर्ब ६० करोड मानिसलाई यो वर्षको अन्त्यसम्म खोप पाउन गाह्रो हुनेछ ।

दक्षिण चीनको ब्यस्त बन्दरगाह नयाँ भ्यारियन्टका कारण बन्द भए विश्वव्यापी व्यवसाय संकटमा पर्ने देखिएको छ ।

कोरोनाभाइरसलाई राजनीतिसँग जोड्ने काम देखिएका कारण महिनौ अघि हुनुपर्ने काम अहिलेसम्म हुन नसकेको हो । यसले यो क्षेत्रमा कोरोनाको समस्या गम्भीररूपमा गहिरिने चिन्ता बढेको छ ।

गत वर्षदेखि अमेरिका र युरोपका केही देशहरूले खोपलाई द्रुतगतिमा अनुमति दिनु अति आवश्यक थियो ।

त्यतिखेर अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र ताइवानसमेतमा संक्रमित र मृत्यु दर साक्षेपिकरूमा न्युन थियो । यहाँका मानिसहरूले कोरोनाभाइरस विरूद्धको मापदण्डहरूलाई अपनाएका थिए ।

स्ट्रान्डफोर्ड युनिभर्सिटीका सहप्राध्यापक डा. सी ज्यासन वाङले यो क्षेत्रमा खतरा कम आँकलन गरिएको बताए ।

यो वर्ष खोपको रणनीति बन्न थाल्यो । मानवीयताका आधारमा उपलब्ध हुनुपर्ने खोप र सर्वाधिक जोखिम समूहमा पु¥याउनुपर्ने खोपको आपूर्तिमा समस्या उत्पन्न भयो । खोपको ठेक्का घोषणा भयो । कम्पनी र देशहरूबीच खोपको ठेक्का लाग्ने भयो ।

मार्चमा इटलीले अस्ट्रेलियाका लागि निर्यात गर्ने भनिएको अढाई लाख डोज आफू कहाँको समस्याका लागि रोक्यो । अन्य सिपमेन्टहरू उत्पादनमा आएको समस्याले रोकियो । अस्ट्रेलियास्थित एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका रिचार्ड माउडेले खरिद गरिएका खोप बन्दरगाहमा ओर्लिन थालेको देखिएको बताए ।

डब्लुएचओमा काम गरेका अस्ट्रेलियाका डाक्टर पिटर कोलिगननले यथार्थ भनेको खोप जहाँ बनिरहेको छ उनीहरूले आफ्ना लागि बनाइरहेको बताए ।

विभिन्न समस्याले गर्दा अमेरिका र युरोप हेर्दा अन्तर ठूलो छ । एसियामा २० प्रतिशत मानिसले कम्तिमा एक मात्रा खोप लिएका छन् । उदाहरणका लागि जापानमा १४ प्रतिशतले एक मात्रा लिएका छन् । फ्रान्समा ४५ प्रतिशतले लिएका छन् भने अमेरिकामा ५० प्रतिशत भन्दा बढीले लिएका छन् । बेलायतमा ६० प्रतिशत बढीले खोप लिएका छन् ।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा खोप दिने काममा समस्या भइरहेको देखिएको छ । जुन २ सम्म दुई करोड २० लाखलाई खोप दिइएको देखियो । चीनले ९० करोडलाई खोप दिने जनाएको छ ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले नोभेम्बरसम्म सबै वयस्कलाई खोप दिइने बताएका छन् ।

जापानी सरकारले ताइवानमा १२ लाख मात्रा अस्ट्राजेनेनाको खोप दान स्वरूप पठाएको छ । ताइवानको दुई करोड ३५लाखको १० प्रतिशतलाई खोप दिन पनि अझ पर्याप्त खोप पुगी सकेको छैन ।

खोप एसियाभर पर्याप्त भएन भने अन्तर्राष्ट्रिय उडानमा लगाइएको बन्देज फुकुवा हुने छैन् । अस्ट्रेलियाले अर्को वर्ष पनि सीमा बन्देज खुला नगर्ने संकेत गरेको छ । जापानले पनि सबै गैरआवासीयहरूलाई प्रवेशमा रोक लगाइरहेको छ ।

एसियाका अधिकांश देशहरूमा यस्तै समस्या रहेको छ । डेल्टा भ्यारियन्टबाट भारतको अवस्था ध्वंस हुन पुगेको छ । खोप दिने समस्या पनि भारतमा त्यस्तै रहेको छ ।
इन्डोनेसियाले खोप लिन अस्वीकार गर्नेलाई चार सय ५० अमेरिकी डलर जरिवाना तोक्ने चेतावनी दिएको छ । भियतनामले खोप किन्न दान दिन आग्रह गरेको छ ।

एसियामा यो वर्ष भाइरस जित्ने सम्भावना थोरै छ । खोपको वितरणमा धनी देशहरूको सानो चित्त कारण भएको देखिएको छ ।

बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन लगायतले धनी देशहरूको समूह जी सेभनमा कोरोनाभाइरसबारे गरिएको निर्णयप्रति गरेको सार्वजनिक आलोचनाले पनि यसको पुष्टि गरेको छ ।

ब्राउनले विश्वलाई ११ अर्ब खोपको मात्राको आवश्यकता भएको बेला एक अर्ब खोपको मात्रा दिने योजनाको घोषणा गरिएको भनी आलोचना गरेका हुन् । विश्वलाई खोपका लागि ५० अर्ब अमेरिकी डलर बराबरको आवश्यकता हुने बेला मात्र पाँच अर्ब अमेरिकी डलर बराबरको घोषणा गरिएकाले ब्राउनले चर्को आलोचना गरेका हुन् । ब्राउनले भने “विश्वका धनी देशहरूका लागि केही गर्नुपर्ने अवसर भएको बेलामा केही गर्न नसकेकाले यो उनीहरूका लागि नैतिक असफलता जस्तो हो ।”

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस