Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

जेनेभामा बाइडेन र पुटिनबीच भेट


काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । स्विट्जरल्यान्डको राजधानी जेनेभामा रहेको एक होटलमा केही बेरअघि उनीहरूबीच भेट भएको बीबीसीले जनाएको छ ।

तिक्ततापूर्ण सम्बन्ध रहेका दुई शक्ति राष्ट्रका प्रमुखबीच भइरहेको भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । गएको चार महिनादेखि दुवै नेताले एक–अर्काविरुद्ध व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए ।

राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षण प्राप्त ह्याकरहरूलाई साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाएका छन् । साथै उनले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन् ।

तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरूको खण्डन गरिरहेका छन् । दुई राष्ट्रपतिबीच केहीबेर कुराकानी भएपछि दुवै देशका विदेश मन्त्रीसहित वार्ता हुने र त्यसपछि दुवै देशका अरू प्रतिनिधिसहित कुराकानी हुने बीबीसीले जनाएको छ ।

राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुवै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्त्वपूर्ण कदम हुने बताएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट