Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना सङ्क्रमण

ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना सङ्क्रमण


एजेन्सी, २४ असार । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका हुन् । उच्च ज्वरोका कारण गएको सोमबार उनले कोरोना भाइरसको परीक्षण गराएका थिए ।

हिजो आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भन्दै उनले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचनासमेत हुने गरेको थियो ।

उनले पटक–पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफूलाई यसले थला पार्न नसक्ने बताउँदै आएका थिए । उनले अर्थतन्त्र प्रभावित भएको भन्दै क्षेत्रीय गभर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गरेका थिए ।

हिजो पनि उहाँले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफूलाई ज्वरो हराएको र निकै आराम महसुस भइरहेको बताउनुभएको थियो । उहाँले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोपसमेत लगाउने गर्नुभएको छ ।

ब्राजिल, कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित देश हो । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण ६५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार