Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतीय जनवादी कवि वरवर रावलाई बल्ल जमानत

भारतीय जनवादी कवि वरवर रावलाई बल्ल जमानत


गलत तरिकाले फसाइएका भारतीय अधिकारकर्मीहरूमध्ये एक भारतका जनवादी कवि ८२ वर्षीय वरवर रावलाई छ महिनाको जमानत बम्बई उच्च अदालतले दिएको छ ।

रावलाई उनको कमजोर अवस्थाका कारण जमानत दिन पनि धेरै सोंच विचार गर्नुपरेको छ । जनवादी विचारसँग सम्बन्ध राख्ने अन्य अधिकारकर्मीहरूको स्वास्थ्य अवस्था कमजोर बनिरहेका छन । जेल प्रशासनले बन्दी बनाएर राखे पनि उनीहरूलाई दिनुपर्ने मौलिक अधिकारको हनन गरेका समाचारहरू भारतका विभिन्न सञ्चारमाध्यममा सार्वजनिक हुने गरेका छन । मुलधारका मिडियाहरूले त प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाको विरोध गर्नेहरूलाई देशविरोधी र राष्ट्रहितको मुद्दा लगाउनुपर्ने वकालत तत्काल गरिहाल्ने गरेका छन् । क्रान्तिकारी, माओवादी विचारसँग नजिक मानिएकाहरूको बारेमा त मूलधारको मिडियाले आँखा उठाएर हेर्ने कुरै भएन । यस्तोमा मोदीको इशारामा चल्ने राष्ट्रिय अनुसन्धान नियोगका पदाधिकारीहरूले भारतको शासन व्यवस्था फेर्नु पर्ने आवाज उठाउनेहरूलाई जेलमा राख्ने कसरत गरे पनि उनीहरूलाई जेलभित्र राख्न मानवअधिकारका मौलिक हक अनुसार पाउनुपर्ने सेवा सुविधा त दिनुपर्ने हो ।

चिकित्सकका आधारमा उनलाई यो जमानत मिलेको हो । यो अवधिमा वरवर रावलाई भारतको राष्ट्रिय अनुसन्धान नियोग एनआईएको क्षेत्राधिकारभित्र रहनुपर्ने छ । एलगार परिषद मुद्दा अन्तर्गत कवि वरवर रावलाई सुनुवाइका क्रममा यो जमानत मिलेको हो ।

जमानतपछि रावलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । ताजोला जेलमा राखिएका रावको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत वर्ष नानावती अस्पतालमा लगिएको थियो । रावका पक्षमा धेरै आवाज उठेका छन् । राष्ट्रिय अनुसन्धान नियोग र प्रान्तीय सरकारसँग रिहाइका लागि माग गरिएको छ । तर, ती मागहरू उपर कुनै सुनुवाइ भएको छैन ।

विगत ३२ महिनामा पहिलो पटक एलगार परिषद मुद्दामा हिरासतमा राखिएकाहरूमध्ये कसैलाई जमानतमा रिहा गरिएको यो पहिलो पटक हो । राव गत वर्ष गम्भीर विरामी परेका हुन । उनलाई अस्पतालमा लग्नका लागि चिकित्साका आधारमा जमानतमा रिहा गरिएको हो । त्यो पनि गुप्तचरहरूको निगरानीमा रहने गरी जमानत मिलेको हो । अदालतको इजलासका न्यायाधीशहरू एस एस सिन्दे र मनिष पितालेले सोमबार भने “सबै विनम्रता तथा मानवीय समझदारीका आधारमा हामीले यो मुद्दामा राहत दिन यो निर्णय गर्न विचार गर्छौं । हामीले मुद्दाको सुनुवाइको क्रममा हेर्दा उहाँलाई अस्पतालबाट जेलमा पठाउन उचित नहुने महसुस गरेका छौं । यस्ता शर्तहरूमा यो निर्णय गर्न उचित हुनेछ ।”

चिकित्साको आधारमा जनवादी कवि वरवर रावलाई गम्भीर विरामीको अवस्थामा अस्पतालबाट जेल पठाउनु उचित नहुने देखेका बम्बई उच्च अदालतका न्यायाधीशरूले सुनुवाइका क्रममा यस्तो बताए ।

छ महिना समाप्त भएपछि रावलाई फेरि ताजोला जेलमा फर्काएर लानै पर्छ सो इजलाशले भनेको छ । यो जमानतको अवधिमा राष्ट्रिय अनुसन्धान नियोगको क्षेत्राधिकारभित्र रहनै पर्छ । एनआईए अदालतको क्षेत्राधिकार महाराष्ट्रभर विस्तार हुन्छ ।

एनआईएको पक्षमा पैरवी गर्ने अतिरिक्त महान्यायाधिवक्ताले तीन साताको जमानत दिन आग्रह गरेका थिए । उनको यो आग्रहलाई अदालतले अस्वीकार ग¥यो । नानावती अस्पतालले उनलाई रिहाका लागि स्वस्थ सम्झेमा उनलाई जमानतमा रिहा नगरिने र जेलमा पठाइने छ । तर अहिले उहाँलाई रिहा गरिनै पर्छ ।
मुद्दाको सुनुवाईमा आवश्यक परेका बेला रावलाई उपस्थित हनुपर्छ तर उनले आफ्नो भौतिक उपस्थितिका लागि छुट माग्न सक्छन, न्यायाधीश शिन्देले अदालतमा भनेको उल्लेख गरिएको छ ।

एनआईएले यसअघि रावको जमानत आग्रह इन्कार गरेको थियो । एनआईएले राव डाइमेन्सियाबाट अस्वस्थ्य नभएर बुढ्यौलीबाट पीडित रहेको भन्दै उनको जमानतलाई इन्कार गरेको थियो ।

एनआईएले लगाएको यो आरोपलाई रावको परिवारजनले सशक्तरूपमा विरोध जनाएका थिए । रावका परिवारजन र वकिलहरू र अदालत पनि एनआईएको दलिलप्रति विश्वस्त हुन सकेनन् ।

अदालतको सो इजलाशले तीन उजुरीको सुनुवाइ गरिरहेको छ । रावको पूरा चिकित्सा रेकर्डको बारेमा परेको रिट उजुरी, चिकित्साका आधारमा जमानतको उजुरी र रावकी पत्नी हेमलताले चिकित्सा सेवा पाउनुपर्ने मानव अधिकारको आधारभूत अधिकारको उल्लंघन भएको उजुरीको बारेमा अदालतले सुनुवाइ गरिरहेको छ ।
जनवादी कवि वरवर रावका परिवारले उनको परिवारले पटक पटक उनको स्वास्थ्य उपचार नगराएको भनी उजुरी गर्दै आएको छ । रावलाई जेलमा हाले देखि १८ किलो वजन कम भएको र पिठ्युमा समस्या भएको ऊजुरी दिइएको हो । उनको परिवारले गत वर्ष अक्टोबरदेखि यस्ता उजुरीमा आफ्नो माग दाबी राख्दै आएको छ ।

एनआईएले अदालतमा प्रस्तुत गरेको मेडिकल रिपोर्टको अध्ययन गरेको छ । त्यसका आधारमा रावलाई दिनको २० चक्की औषधि दिइने गरिएको पाइएको छ । हेर्नुस रावलाई हरेक दिन दिइने औषधिहरूको सूची हेरौं । उनलाई यी औषधिहरूको भार खप्नु परेको छ । त्यसैले उनलाई चिकित्सासम्बन्धी सहयोगको निरन्तर आवश्यकता रहेको उच्च अदालतले उनको विषयमा भनेको छ ।

गत वर्ष जुलाई १६मा रावलाई कोरोना पोजिटिभ भएको परीक्षणमा देखिएको थियो । उनलाई स्वास्थ्य उपचारका लागि नानावती अस्पतालमा लगिएपछि गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । जुलाई ३०मा उनलाई अन्तिम नतिजा देखिएपछि नानावती अस्पतालबाट तालोजा जेल पठाइएको थियो । केही महिनाअघि राव जेलमा अचेत भई लडेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई मानवीयताका आधारमा जमानतमा रिहा गर्न उनको परिवारले पटक पटक सरकार र नागरिक समाजलाई आग्रह गरेको छ ।

गत वर्ष डिसेम्बरमा उनलाई नानावती अस्पतालमा फेरि भर्ना गरियो । अदालतका न्यायाधीश शिन्दे तथा न्यायाधीश एमएस कार्निकको हस्तक्षेपपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

द वायरले यसबारे समाचार सार्वजनिक गरे अनुसार एनआईएले रावको जमानतको विरोधमा सक्रिय पहल गरिरहेको छ । रावको स्वास्थ्य अवस्था खराब हुँदाहुँदै एनआईएले उनलाई मानवताका आधारमा वा चिकित्सासम्बन्धी आधारमा रिहा गर्न नहुने पहल लिएको थियो । महाराष्ट्र सरकारले पनि उनको स्वास्थ्य अवस्थालाई ध्यान दिएको पाइएको छैन । राज्य सरकारले गलत तरिकाले अधिकारकर्मीहरूलाई गिरफ्तार गर्ने कार्यको विरोध गरेपछि वरवर रावको पक्षमा कुनै ध्यान दिएको छैन । रावका वकिलहरूले उच्च अदालतमा चिकित्सा उपचारका लागि रिहा गर्न ऊजुरी दिए । महाराष्ट्रको जेल विभागले पनि उनलाई समय समयमा चिकित्सा उपचार दिन नसकेकोले उनको स्वास्थ्य कमजोर बन्दै गएको हो ।

भारत सरकारले एलगार परिषदको मुद्दामा गिरफ्तार गरिएको अधिकारकर्मी, कवि, वकलि तथा विद्वानहरूमध्ये राव एक हुन । हालै मात्र अमेरिकाको डिजिटल फोरेन्सिक अनुसन्धान प्रतिष्ठान आर्सेनल कन्सल्टिङले यसरी एनआईले गरेको गिरफ्तारी गलत तरिकाले गरिएको खुलासा गरेको छ । यी अधिकारकर्मीहरूलाई गिरफ्तार गर्न प्रमाण लुकाएर उनीहरूको घरमा राखेको र छापा मारी निकालेको भनी खुलासा अमेरिकाको कन्सल्टिङ प्रतिष्ठानले गरेको छ । एनआईएले रावसँगै गिरफ्तार गरिएका रोना विल्सनको ल्यापटपमा साइबर आक्रमण गराई अपराधको प्रमाण पठाएर बरामद गरिएको खुलासा गरिएको हो । अर्सेनल कन्सल्टिङ्गले गरेको साइबर अनुसन्धान अनुसार रावको इमेल आइडीलाई ह्याक गरेको र त्यसबाट विल्सनकोमा गलत भाइरस मालवेयर पठाइएको र यस सम्बन्धित केसमा यसलाई प्रमाण बनाइएको खुलासा भएको हो ।

राव लगायत गलत तरिकाले पक्राउ गरिएका अधिकारकर्मीहरूमा झारखण्ड आधारित मानवअधिकारकर्मी फादर स्टान स्वामी, मानव अधिकारकर्मी आन्दा टेल्टुम्बडे, पत्रकार अधिकारकर्मी गौतम नवलखा, सेवानिवृत प्रोफेसर शोम सेन र वकिल सुधा भारद्वाजसमेतलाई एलगार परिषदको मुद्दामा गिरफ्तार गरिएको छ । उनीहरूलाई उपचार तथा स्वास्थ्य हेरचाह सुविधा नदिइएकाले स्वास्थ्यका लागि उजुरी दिइएको छ । उनीहरूको उजुरीलाई अदालतले अस्वीकार गरेको छ । समयबद्ध सप्ताहिकबाट

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)