Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियटु प्लस टुको रिहर्सलपछि अमेरिकी तालमा भारत डिस्को गर्ला त ?

टु प्लस टुको रिहर्सलपछि अमेरिकी तालमा भारत डिस्को गर्ला त ?


अमेरिकाका विदेशन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्पर दुबैले आफ्ना समकक्षी क्रमशः भारतका विदेशमन्त्री यस जयशंकर तथा राजनाथ सिंहसँग सँगै छलफल गरी हिन्द प्रशान्त महासागरीय तटवर्ती क्षेत्र तथा जलक्षेत्रमा अमेरिकी वर्चस्व कायम गर्न भारतको बलियो तथा ठोस सहयोग प्राप्त गर्ने प्रयासमा छन् ।

हिन्द प्रशान्त क्षेत्रबाट अमेरिकी वर्चस्वमा चीनको उदयले समस्या उत्पन्न गरेको छ । अमेरिकी वर्चस्वमा ह्रास ल्याउन चिनियाँ उदयमा हातेमालो रूसको रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई एक्ल्याउन रूसलाई जी सेभेनको विस्तारमा सहभागी गराउन प्रयास गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन बिनाको कुनै पनि समूहको अर्थ नभएको जनाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको चीन एक्ल्याउने योजना असरदार नभएपछि उनले भारतलाई चीनको विरोधमा उचाल्ने काम गरिरहेका छन् ।

अमेरिकाले लद्दाखमा भारत र चीनबीचको सैनिक तनावको विषयमा भारतको पिठ्यु थपथपाएको हो ।

भारतले नोभेम्बर महिनामा संयुक्त सैनिक अभ्यासमा अस्ट्रेलिया, जापान र अमेरिकी सेनालाई निम्तो दिएको छ । चार देशको यो संयुक्त सैनिक अभ्यासलाई अमेरिकाले स्वागत गरेको छ ।

चिनियाँ विज्ञहरूले यसलाई अमेरिकी तालमा भारत नाच्न खोजेको रूपमा लिएका छन । चीनको ग्लोबल टाइम्समा लिउ जोङ्गीले यो क्वाडको भौतिकीकरणमा भारतले सहयोग गरिरहेको उल्लेख गरेका छन् । उनले भारतको प्रयासबाट यो क्वाडलाई नेटोजस्तो सैनिक संगठन बनाइहाल्ने कुरो धेरै टाढाको भए पनि चीनलाई घेरा हाल्न र उसलाई समस्यामा पार्न सकिने देखिएको छ । यस सन्दर्भमा लिउले चीनलाई क्वाडबाट हुनसक्ने अपर्झट गतिविधिका लागि सैन्यरूपले सतर्क रहनुपर्ने आवश्यकता औंल्याएका छन । भारत हिन्द महासागरमा अमेरिकाको तालमा डिस्को गर्न खोजेको लिउको टिप्पणी रहेको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम साता बितिरहेको बेला अमेरिकाका विदेशमन्त्री पोम्पेओ र रक्षामन्त्री एस्पर भारतका समकक्षीहरूसँग टु प्लस टु गम्भीर छलफलमा आउनु आफैमा गम्भीर विषय हो । नोभेम्बर ३ मा निर्वाचन सम्पन्न हुन लागेका बेला राष्ट्रपति ट्रम्पका तर्फबाट हुन लागेको यो छलफलले कुनै ठोस सहमति निर्माण गर्ला भन्ने विषय अहिले सर्वाधिक चासोको विषय हो । अमेरिकामा हालसम्म देखिएका मतसर्वेक्षण परिणामहरूले ट्रम्प आफ्ना प्रतिस्पर्धी डेमोक्रेटका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडन भन्दा धेरै पछि रहेका छन । सन् २०१६ को तुलनामा ट्रम्पको अवस्था खस्किएको छ । वैश्विक महामारी कोभिड–१९को बेला जनतालाई दिनुपर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन कमजोर भए भने चीनसँग व्यापार युद्ध गरेर किसानहरूलाई दुःखी बनाएको अवस्थामा ट्रम्प अहिले रहेका छन । यस्तोमा भारतसँगको ठोस सम्झौताले ट्रम्पका लागि चुनाव जिताउने महत्वपूर्ण कार्ड हात लाग्ने भनाइ आफैमा अतिशयोक्ति हुन सक्दैन । अमेरिकामा भारतीय मतदाताहरूको ठूलो प्रभाव रहेको छ । चीन विरूद्धको व्यापार युद्धबाट कमजोर हुन पुगेको अमेरिकाले भारत पक्षबाट बलियो हुन खोजेको देखिन्छ । त्यसैले यो टु प्लस टुको बैठक अमेरिका र भारतबीच हुन लागेको हो । केही समयअघि भारतका विदेशमन्त्री जयशंकरले लद्दाख क्षेत्रको सीमामा स्थिति असामान्य रहेको बताएका थिए । यस्तोमा भारत र अमेरिकाबीच ठोस रक्षा सम्झौता हुन सक्ने सम्भावना बढाएको देखिन्छ । भारतले क्वाड बनाइरहेका बेला रूसी राष्ट्रपति चीन र रूसको सैनिक गठबन्धन दुनियाँको स्थिति फेर्न सक्ने खालको सैनिक गठबन्धन बन्न सक्ने बताएका छन् । पुटिनले यस्तो बताइरहँदा अवस्था भने तत्काल यस्तो आई नपुगेको बताए । सम्भवतः पुटिनले भारत, अमेरिका, अस्ट्रेलिया र जापानसहितको चौकडीको तुलनामा चीन र रूसको जोडी सर्वाधिक बलियो भएको सन्देश दिएका छन ।

भारतको परम्परागत रक्षा सहयोगी रूस रहेको छ । अमेरिकासँगको रक्षा सम्बन्ध रूसको तुलनामा नयाँ रहेको छ । भारत र अमेरिकाबीच परमाणु सम्झौता अमेरिकाको कन्जरभेटिभ पार्टीका नेता जर्ज डब्लु बुस राष्ट्रपति भएका बेला भएको थियो । अर्कोतर्फ भारत र चीनबीच गम्भीरखाले सीमा विवाद रही आएको भए पनि आर्थिक सम्बन्धको आयाम धेरै ठूलो छ ।

भारतले चीनसँगको व्यापारिक सम्बन्धको अनदेखा गरी निर्वाचन हुनु एक साताअघि कुनै ठोस सम्झौता होला भन्न सकिन्न । चीनलाई एक्ल्याउन र चीनसँग शत्रुवत व्यवहारलाई बढावा दिने बाटोमा भारतले पहल लिन सक्ने देखिन्छ । चीन र रूसको सम्बन्ध अहिले पहिलेको भन्दा धेरै राम्रो अवस्थामा पुगेको पुटिनले सैनिक गठबन्धनको सम्भावनाबारे अभिव्यक्ति दिएका थिए । भारतले चीनसँगको शत्रुवत व्यवहार गर्ने र अर्थतन्त्रलाई झन खराब अवस्थामा पु¥याउने बाटोमा जाने निर्णय गरे यो बाटो समात्न सक्नेमा कतिपय विज्ञहरूको बुझाइ रहेको छ । त्यसैले भारतले देखिने गरी तत्काल ठोस सम्झौतामा यो टु प्लस टुबबाट पुग्नेमा विश्वास गर्न सकिने परिदृश्य छैन । तर पनि लिउले भने जस्तै भारतले अमेरिकी तालमा डिस्को गर्छ कि गर्दैन त्यो यो बैठकको निश्कर्षबाट तय हुने छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking