Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा कोरोना संक्रमित संख्या ५० लाख नाघ्यो

भारतमा कोरोना संक्रमित संख्या ५० लाख नाघ्यो


भदौ, ३१ । भारतमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० लाख नाघेको अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ। अरू देशको तुलनामा भारतमा कोभिड-१९ तीव्र गतिमा फैलिरहेको देखिएको छ। त्यहाँ मङ्गलवारसम्म निरन्तर पाँच दिन दैनिक ९०,००० भन्दा बढी सङ्क्रमित फेला परे।

कोभिड-१९ का कारणले त्यहाँ ८०,००० भन्दा बढी बिरामीको मृत्यु भइसकेको छ। त्यहाँ अहिले सघन उपचारका लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव देखिको बताइन्छ।

तर धेरै सङ्क्रमित भए पनि मृतकको सङ्ख्या अतिप्रभावित अरू देशको भन्दा कम छ। देशको आर्थिक स्थिति बिग्रिन थालेको र लाखौँ मानिसले जीविकोपार्जन गर्न नसकेको भन्दै सरकारले महामारी नियन्त्रणका लागि पहिला लगाइएका बन्देजहरू हटाउन थालेपछि सङ्क्रमण दर ह्वात्तै बढेको हो।

सङ्क्रमण देखिन थालेपछि भारतमा गत मार्च महिनामा राष्ट्रव्यापी लकडाउन गरिएको थियो। त्यतिबेला स्थिति असामान्य भइसकेको थिएन। बिस्तारै मुम्बई र दिल्लीजस्ता ठूला सहर र अन्यत्र पनि सङ्क्रमण फैलियो।

तर सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको भए पनि सरकारले मानिसहरूको गतिविधिमा लगाइएका प्रतिबन्धहरू खुकुलो बनाएको छ। गत साता मात्र भारतमा छ लाख सङ्क्रमित थपिए।

विगत २४ घण्टामा ९०,१२३ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको कुल सङ्ख्या ५,०२०,३५९ पुगेको छ।

अक्सिजन आपूर्तिको स्थिति के छ ?

केही समययता श्वासप्रश्वासमा समस्या भएका सङ्क्रमितको सङ्ख्या बढेकाले कृत्रिम अक्सिजनको माग ह्वात्तै बढेको छ।

अस्पताल र स्वास्थ्यकेन्द्रहरूले यो महिना दिनहुँजसो २,७०० टन अक्सिजन खपत गरिरहेका छन्। एप्रिल महिनामा केवल ७५० टन अक्सिजन खपत भएको अल इन्डिया इन्डस्ट्रियल ग्यासेस म्यानुफ्याक्चरर्स असोशीएशनले जनाएको छ।

अक्सिजन उत्पादकहरूका अनुसार धेरै कलकारखानाहरू फेरि खुलेकाले औद्योगिक प्रयोजनका लागि पनि अक्सिजनको माग बढेको छ।

धेरै सङ्क्रमण देखिएका महाराष्ट्र, मध्य प्रदेश, गुजरात, राजस्थान, तेलङ्गाना र आन्ध्र प्रदेश राज्य बढी प्रभावित भएका छन्। बीबीसीका भारत संवाददाता सौतिक बिश्वासका अनुसार अहिले जीवन कि जीविकोपार्जन भन्ने प्रश्नले भारतलाई छोपेको छ।

उनका अनुसार भारतले उद्योग र बिरामी दुवैलाई हानि नहुनेगरी आफ्नो क्षमता बढाउनुपर्ने स्थिति छ।
अधिकांश अक्सिजन प्लान्टहरू ठूला सहरनजिकै छन्। त्यसैले सहरबाहिर अक्सिजन पठाउन विशेष लरीमा हालेर अक्सिजन पठाइन्छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस