१.कुनै पनि लगानीकत्र्ताको जोड र कोणबाट लगानी गर्ने वा बढाउने कुरा गर्दा यो सबैभन्दा प्रतिकुल बेला हो । किनभने समग्र विश्व जस्तै नेपाल पनि कोरोना महामारीका कारण थिलथिलो भएको छ । जनताको जीवन दैनिकी कक्रक्क भएको छ । तर, सहसीहरु प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्न काबिल हुन्छन भन्ने एक ज्वलन्त उदाहरण बनेका छन् उनी ।
कारण, चौतर्फी प्रतिकुलताका बीच ठूलो धनराशी लगानी गरेर उनले स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् । सामान्य मुटु भएका मान्छेले गर्न नसक्ने लगानी गरेका छन् । यस्तो बेलाको लगानी त्यो पनि मेडिकल कलेज र अस्पतालमा । यो सामान्य जनको, लगानीकर्ताको चानचुने मुटुले गर्न सक्ने काम थिएन, होइन ।
२. कोरोना भाइरसले समस्त विश्वका सबै मानव जातिलाई यतिबेला जीवनमरणको दोसाँधमा धकेलेको छ । मानव जाति नै जीवन बचाउने हर सम्भव उपायको खोजीमा भौतारिइँ रहेका छन् । जीवन रहे जगत देखिएला कि भन्ने गरी मानव मन मष्तिष्कहरु हायलकायल भइरहेका बेला मान्छेलाई चाहिएको छ, सुविधा सम्पन्न अस्पताल । काविल स्वास्थ्यकर्मी उत्पादन गर्ने मेडिकल कलेज ।
सिङ्गै दुनियाँभरका मानवजातिको जीवन कल्याण गर्ने त्यही क्षेत्रमा उनले लगानी गरे । लगानी उनले अन्य जुनसुकै क्षेत्रमा पनि गरेर आफू अघि बढ्न सक्थे । सुरक्षित लगानीका क्षेत्र धेरै हुन सक्थे । तर, उनले छाने यही कहालीलाग्दो अवस्थाका बीच स्वास्थ्य क्षेत्र । हो, यही हो उनको महानता, मानवताको पक्षमा, मानव जीवनको कल्याणका पक्षमा । यो असामान्य विवेकसम्मत लगानी हो उनको । लगानीका लागि क्षेत्र र प्राथमिकता छनौटमा असाधारण विवेकपूर्ण जोखिम उठाएका हुन् उनले ।
३. सिद्धान्ततः शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी सरकारको हुनुपर्छ भन्नेमा दुईमत रहन्न । झन नेपाल जस्तो पार्टी घोषणपत्र र सरकारी नीति कार्यक्रमका दस्तावेजका हिसाबले सरकार नै समाजवाद उन्मुख रहेको राज्यसत्ता रहेको मुलुकमा सरकारले नै शिक्षा र स्वास्थ्यमा लगानी गरेर जनताको शिक्षा र स्वास्थ्य अधिकारको जिम्मा लिए राम्रो, अति राम्रो । तर हामीकहाँ अहिलेको अवस्था काम कुरो एकातिर, सरकारी नीति र कदम अर्कोतिर भइरहेकै तीतो विडम्वना छ ।
त्यसैले, सरकारले तातेर आफै अग्रसरता लिनुपर्ने बेलामा एक व्यक्तिले आफ्नो जीवनभरको आर्जन, पौरख, योग्यता र क्षमता जनताको मेडिकल शिक्षा र स्वास्थ्यको क्षेत्रमा खन्याएका छन् । सरकारको काम एक व्यक्तिले पूरा गर्न खोज्दै छन् । नीतिगत रुपमा सरकार नै आफ्नो लक्ष्यमा रनभुल्ल परेका बेला सरकारको लक्ष्य पूरा गर्न देशको एक नागरिक नै अग्रसर रहनु सरकारले नै स्यावास दिनुपर्ने र गौरववोध गर्नुपर्ने कर्म हो उनको । सरकारलाई उनले होस्टेमा हैंसे गरेका छन् ।
४.मान्छे जन्मले होइन, कर्मले नै स्थापित र जीवन्त बन्नसक्छ भन्ने त उनी असाधारण उदाहरण हुन् । किनभने उनी सामान्य परिवारमा जन्मेर पनि असामान्य स्तरमा व्यावसायिक प्रगति, उचाई र सफलता हासिल गरेका एकजना प्रतिष्ठित मेडिकल उद्यमी हुन् । उनले यसबीचमा कति हण्डर खाए, कति संघर्ष गरे, कति समस्याहरुसँग पौठेजोरी खेलेर श्रेष्ठता हासिल गरे, तिनको फेहरिस्त फरक होला ।
तर, एउटा सामान्य किसानको छोरो एकाध दशकमै देशकै ठूलो मेडिकल कलेजको क्याप्टेन बन्न सकेको ताजा आलोकमा उनी कर्ममा विश्वास गर्ने, पौरखी बन्न चाहनेहरुका लागि जीवन्त प्रेरणा हुन् । अविरल कर्मशीलहरुका लागि व्यावसायिक सफलता आकाशको फल हुँदैन भनेर उनकै व्यावसायिक छलाङ एक काफी उदाहरण बनेको छ । त्यसैले यो उनका संघर्षकथाको सकारात्मक पाठ सिक्नु पर्छ ।
५.नेपाल प्राकृतिक रुपमा जति धनी छ, उति नै देश गरीव छ, राज्यसत्ता संचालकहरुका अनेकन त्रुटीहरुका कारण । त्यसकारण मुट्ठीभर धनाढ्य र सम्पन्न जनहरु धेरथोर पैसा कमाएपछि लगानी विदेश लैजान्छन । तर, उनले जे जति कमाए स्वदेश माटो खोस्रेर, खनेरै कमाए । अनि स्वदेशी माटोको कमाई उनले स्वदेशी माटोमा नै स्वदेशी जनकै जीवन रक्षाको खातिर समर्पित गरे । त्यसैले उनी देशभक्तिपूर्ण लगानीकर्मका लागि उदाहरणीय पात्र हुन्, प्रेरक प्रवृत्ति हुन् ।
६. आस्थाले होइन, अवस्थाले मान्छेलाई जनताप्रति समर्पित हुन सिकाउँदो रहेछ । उनी सिद्धान्ततः जननायक विपी कोइरालाका अनुयायी हुन् । उनी साम्यवादी सत्ताका हिमायती जरुर होइनन् । तर, देशमा दुई तिहाई हाराहारीको वाम सत्ताको जगजगी चलिरहेका बेला पनि जनताको स्वास्थ्य, शिक्षाको हितमा केन्द्रित कर्ममा लागे । आस्था र विचार चुनावी समरका अस्त्र र औजार हुन, बाँकी समय जनताको सेवा गर्न सत्ता र विचारको भिन्नता कुनै पनि लगानीकत्र्ताका लागि तगारो हुँदैन भन्ने उनले देखाई दिए । यो उनको ठूलो छातीको ठूलै नमुना हो ।
७. मान्छेलाई हिजो र आजको उनको स्तर हेर्दा केही डाहा लाग्न सक्छ, केही अस्वाभाविक लाग्न सक्छ । किनभने हिजोको सामान्य मान्छे आज कसरी यति ठूलो लगानीकर्ता बन्न सक्छ ? जरुर यी र यस्ता प्रश्नहरुको पनि जवाफ हुन, उनी स्वयं र उनको सफल नोवेल प्रोजेक्ट । किनकि उनले नोवेललाई जुन स्तरमा सफल बनाए सरकारको नीति, नियम, कानुन अन्र्तगत नै सफल बनाएका छन् । उनले कुनै कालो धन चोर बाटोबाट ल्याएका होइनन् भन्ने कुरा राज्यका सबै निकाय उनको विरुद्ध खनिदा पनि त तथ्य भेटेन । उनले गैरकानुनी हर्कत गरेका भए, उनी जेलघरमै अहिलेसम्म रहिरहन्थे । छाती फुलाएर यसरी जनताका माझमा उभिन सक्दैन थिए ।
८.व्ल्याक एण्ड ह्वाइट पात्र, प्रवृत्ति र चरित्र हुन उनी । उनलाई उनका विगतका संस्थागत यात्रालाई जब सरकारले, सम्पत्ति शुद्धीकरण विभागले, आन्तरिक राजस्व विभागले समय समयमा एक्लै एक्लै र अरु अरु मेडिकल कलेजहरुकै घानमा पटक पटक डामेकै हुन् । तर, कारवाही रुपी सरकारी आगोमा जति हाले पनि चम्केर उम्केका पात्र हुन उनी । त्यसैले उनलाई कानुनले चम्काएपछि अरु कसैले पनि पनि अझै डाम्न खोज्नुको न तुक छ, न त तर्क नै छन् ।
कैयौं यस्तै धेरै आधार र कारणहरुले उनी अर्थात सुनिल शर्मालाई उनको पछिल्लो लगानीका लागि वधाई दिनु, उनको कर्मलाई सलाम गर्नु र उनको नयाँ बिस्तारित गन्तव्यका लागि सफलताको कामना गर्नु अतिरन्जित र अतिशयोक्तिपूर्ण हुने छैन । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को अध्यक्षको जिम्मेवारी सुनिल शर्माले सम्हालेका मात्रै होइनन् उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा नयाँ चुनौतिको सामना गर्न आफूलाई तयार पारेका हुन् । यही सोमबारदेखि शर्माले केएमसीको अध्यक्षको जिम्मेवारी सम्हालेर उनको विराटनगरको सफल करिअरलाई राजधानीसम्म बिस्तारित गरेका हुन् ।
केएमसीमा ५१.३८ प्रतिशत सेयरसहितको शर्मा नेतृत्व
मोरङस्थित नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मा केएमसीको कुल सेयरको ४७.१ प्रतिशत सेयर खरिद गरेर केएमसी भित्रिएका हुन् । उनले केएमसीको संस्थापक सेयरको ५१.३८ प्रतिशत सेयर खरिद गरेका छन् । शर्माले केएमसीको अध्यक्षको रुपमा नयाँ कप्तानी स्वीकारेसँगै सोमबार नै पदभार ग्रहण गरेका छन् । केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले एक अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँमा खरिद गरेका हुन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको नाममा अहिले संंस्थापक तीन सय ५४ जनाको ७० प्रतिशत र सर्वसाधारण (कर्मचारी) सात सय १८ जनाको ३० प्रतिशत सेयर रहेको छ ।
कुल ६० लाख नौ हजार पाँच सय ५३ कित्ता सेयरमध्ये संस्थापकका नाममा ५५ लाख ९ हजार पाँच सय ५३ कित्ता र सर्वसाधारणका नाममा पाँच लाख कित्ता सेयर छ । जसमध्ये २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले खरिद गरेका हुन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को संस्थापक सेयरको ५१.३८ प्रतिशतसहित कुल ४७.१ प्रतिशत सेयर लिएर केएमसीमा शर्मा भित्रिएका हुन् । जसका लागि उनले एक अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँ लगानी गरेका छन् ।
नोवलको सफलता, नयाँ यात्राको जग
चिनाइरहनु परोइन कि पूर्वी नेपालको मोरङमा अवस्थित नेपालकै ठूलोमध्येको नोबेल मेडिकल कलेजका सञ्चालक हुन् शर्मा । अहिले एकातिर मेडिकल शिक्षाको व्यवसाय ओरालो लागिरहेको र अर्कोतिर अस्पतालका नियमित सेवाहरु पनि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण प्रभावित बनिरहेका बेला पूर्वमा पाएको व्यावसायिक सफलता, नोवलमा आर्जेको उत्कृष्टतालाई उनले राजधानीमा उकालेका छन्, बिस्तार गरेका छन् ।
अग्लो रुखलाई ठूलो हुरीबतास
नेपालमा अक्सर मानिसले आफ्नो कर्म नगर्ने तर अर्काको उछितो काढ्ने अघोषित चलन नै छ । अहिले नोवलदेखि केएमसीसम्मको यात्रामा निस्केका शर्मालाई हायलकायल पार्न शर्माका बारेमा नकारात्मक मिडियावाजी खेती पनि सुरु भएको छ । मेडिकल माफियाहरुको एउटा झुण्डले कसै गरे पनि शर्माको केएमसी यात्रा रोक्न नसकेपछि उनलाई सम्पत्ति शुद्धीकरणको पुरानो मुद्धा उधिन्नेदेखि उनलाई बदनाम गर्ने प्रपन्च सुरु गरिसकेका छन् । एउटा सफल मेडिकल उद्यमीलाई होस्टेमा हैंसे गर्ने कि उल्टो खुट्टा तान्ने ? यो नेपाली समाजले अहिले कोभिड १९ को कहरका बीच ठण्डा दिल दिमागले सोच्नुपर्ने यक्ष प्रश्न हो ।
भनाइ नै छ, अग्लो रुखलाई बढी नै हुरी बतास लाग्छ । त्यसको अपवाद होइनन् शर्मा पनि । उनले आजसम्मको व्यावसायिक सफलता यस्तै प्रतिकुलताहरुलाई चिरेरै आर्जेका हुन, यो उनलाई कसैले दान दिएको होइन, उनले कसैबाट बक्सिस वा विरासतबाट पाएका होइनन । त्यसैले उनले प्रतिकुलताहरुसँग पौठेजोरी खेल्दै नयाँ स्तरको लगानी र लडाईमा सफलता पाउने नै छन् किनभने उनको यो नयाँ यात्रा जनताको स्वास्थ्य शिक्षाको एक हिस्सा हो, अवसर हो । कामना यति हो, उनको नोवलको सफलता केएमसीमा अरु चम्किलो र चामत्कारिक हुन सकोस ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking