बीबीसी कल्चरमा छापिएको एक लेख अनुसार ब्रा फ्रेन्च शब्द ‘brassiere’ को छोटो रुप हो । पहिलो मोर्डन ब्रा पनि फ्रान्समा नै बनेको थियो ।
फ्रान्सको हर्मिनी क्यान्डोलले सन् १८६९ मा एक कार्सेटलाई दुई टुक्रामा काटेर भित्रीवस्त्र बनाएका थिए । पछि यसको माथिल्लो हिस्सा ब्राजसरी लगाउन र बेच्न सुरु गरियो । यद्यपी, पहिलो ब्रा कहाँ र कसरी बनेको थियो यसको निश्चित जवाफ दिन मुश्किल छ ।
स्तनलाई लुकाउनका लागिः
यूनानको इतिहासमा ब्राजस्तो देखिने कपडाको चित्रण छ । रोमन महिला स्तनलाई लुकाउनका लागि छातीको चारैतर्फ एउटा कपडाले बाँध्ने गर्दथे ।
त्यसको ठिक विपरित ग्रीक महिलाले एक बेल्टमार्फत बक्षलाई उकास्ने कोसिस गर्दथे । आज पसलमा जस्तो ब्रा हामी देख्छौं, अमेरिकामा त्यस्तो ब्रा सन् १९३० देखि बन्न सुरु भएको थियो ।
यद्यपी, एशियामा ब्राको कुनै यस्तो स्पष्ट इतिहास पाइएको छैन ।

ब्रा बजारमा आएदेखि नै यसको विरोध भएको थियोः
चर्चित फेशन म्यागजिन ‘भोग’ ले सन् १९०७ ताका ‘‘ brassiere’ शब्दलाई लोकप्रिय बनाउने ठूलो भूमिका खेल्यो ।
रोचक कुरा के छ भने योसँग ब्राको विरोध हुन पनि सुरु भयो । यो त्यही समय थियो जब महिलावादी संगठनले ब्रा लगाउने ‘खतरा’ प्रति महिलालाई सावधान गराएको थियो ।
र उनीहरुलाई यस्तो कपडा लगाउन सल्लाह दिइएको थियो जसले उनीहरुलाई हरेक प्रकारको समाजिक र राजनीतिक बन्धनबाट स्वतन्त्र गर्न सकोस् ।
आधुनिक ब्राको सुरुवाती रुपः
सन् १९११ मा ब्रा शब्दलाई अक्सफोर्ड डिक्शनरीमा राखियो ।त्यसपछि सन् १९१३ मा अमेरिकाकी प्रभावकारी महिला मेरी फेल्प्सले रेशमको रुमाल र रिबनले आफ्नो लागि ब्रा बनाइन् र अर्को वर्ष त्यसको पेटेन्ट पनि गराइन् ।
मेरीले बनाएको ब्रालाई आधुनिक ब्राको सुरुवाती रुप मान्न सकिन्छ तर यसमा कमजोरी थियो । यसले स्तनलाई सपोर्ट गर्नुको साटो त्यसलाई सम्म बनाइदिन्थ्यो र त्यो एउटै साइजमा पाइन्थ्यो ।
जब महिलाले ब्रा जलाइदिएः
त्यसपछि सन् १९२१ मा अमेरिकी डिजाइन आइडा रोजेन्थललाई भिन्न भिन्न ‘कप साइज’ को आइडिया आयो र त्यसपछि हरेक प्रकारको शरिरका लागि ब्रा बन्न थाल्यो ।
त्यसपछि ब्राको प्रचार प्रसार चुस्त हुन थाल्यो जुन आजसम्म रोकिएको छैन । सन् १९६८ मा करिब ४ सय महिला मिस अमेरिका ब्यूटी पेजेन्टको विरोध गर्न जममा भए । र उनीहरुले ब्रा, मेकअपका सामान र हाई हिल्ससमेत थुप्रै वस्तु डस्टबीनमा फ्याँकिदिए । जुन डस्टबीनमा यी वस्तु फ्याँकिए, त्यसलाई ‘फ्रिडम ट्र्याश क्यान’ भनियो ।
नो ब्रा, नो प्रब्लमः
– सन् १९६० को दशकमा ‘ब्रा बर्निङ’ महिलाबीच निकै लोकप्रिय भएको थियो । यद्यपी, वास्तवमा केही महिलाले मात्र ब्रा जलाएका थिए ।
– यो एक सांकेतिक विरोध थियो । थुप्रै महिलाले ब्रा जलाएनन् तर विरोध स्वरुप ब्रा नलगाई बाहिर निस्किए ।
– सन् २०१६ मा एक पटक पुनः ब्रा–विरोधी अभियानले सोसल मिडियामा चर्चा कमायो ।
यो त्यतिबेला भयो जब १७ वर्षकी क्याटलिन जुविक ब्रा नलगाई स्कूल गइन् र उनका भाइस प्रिन्सिपलले उनलाई बोलाएर ब्रा नलगाउनुको कारण सोधे ।

ब्रा र महिला स्वास्थ्यः
क्याटलिनले उक्त घटनाबारे स्न्यापच्याटमा बताइन् जसमा उनले अत्यधिक समर्थन पाइन् । यसरी ‘नो ब्रा नो प्रब्लम’ को सुरुवात भयो ।
ब्राबारे विभिन्न मिथ छ । यद्यपी, विभिन्न अनुसन्धानपश्चात् यो स्पष्ट हुन सकेको छैन कि ब्रा लगाउनुका फाइदा छन् वा बेफाइदा ।
ब्रा लगाउँदा स्तन क्यान्सर हुने बताउने गरेको छ तर अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यसको कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन ।
हो, यो पक्कै हो कि २४ सै घण्टा ब्रा लगाउँदा वा गलत साइजको ब्रा लगाउँदा स्वास्थ्यलाई नकारात्मक असर भने हुन्छ ।
त्यसकारण डाक्टरले आवश्यकताभन्दा टाइट र लुज ब्रा नलगाउन सल्लाह दिन्छन् । साथै सुत्नेबेला हल्का र खुल्ला कपडा लगाउन सल्लाह दिन्छन् ।
यो साँचो हो कि ब्राले महिलाको शरिरको क्रियाकलापमा सहयोग गर्दछ । विशेषगरी व्यायाम, खेलकूद वा शारिरिक मेहनत कामका बेला ।

समाज यति असहज किन ?
ब्रालाई आज महिलाको कपडाको अनिवार्य हिस्सा बनाइदिएको छ । ब्राविरुद्ध आवाज अहिले त्यती सुन्नमा आइँदैन । तर ब्राको विरोध हुनु वा नहुनु ठूलो कुरा नभई आखिर समाज ब्राबारे यति असहज किन हुन्छन् भन्ने प्रश्न तेर्सिन्छ ?
ब्राको रंगले समस्या, ब्रा देखिँदा समस्या, ब्रालाई खुल्ला रुपमा सुकाउँदा समस्या र ब्रा शब्दको उच्चारणमा नै समस्या । महिलाको शरिर र उनको कपडालाई यस्तो प्रकारले नियन्त्रण गर्ने कोसिस आखिर किन ?
सर्ट, पाइन्ट र गन्जीजस्तै ब्रा पनि एउटा कपडा हो । हामीले यसलाई पनि एक कपडाको रुपमा नै हेर्दा राम्रो हुन्छ ।
क्याटेगोरी :
रोचक,
स्वास्थ्य