Techie IT
×
गृहपृष्ठस्वास्थ्यनेपालमा चीन, रुस र बेलायतले बनाएको खोपको परीक्षण प्रकृया सुरु

नेपालमा चीन, रुस र बेलायतले बनाएको खोपको परीक्षण प्रकृया सुरु


काठमाण्डौ, ८ भदौ । नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ । खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो ।

तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

स्वीकृति पाएसँगै परिषद्ले प्रक्रिया अगाडि बढाएको छ । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले विश्वमा तेस्रो चरणमा पुगेको खोप नेपालमा परीक्षणका लागि अध्ययन थालेको जानकारी दिए । चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफोर्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपालमा खोपको परीक्षण गर्न इच्छुक देखिएका उनले बताए।

खोपको परीक्षण जनावर र मानिसमा गर्ने तयारी छ । झण्डै डेढ दुई सय मानिसमा खोपको परीक्षण गर्ने तयारी भए पनि प्रक्रियाकै चरणमा रहेकाले निश्चित भइनसकेको डाक्टर ज्ञवालीले बताए । खोप परीक्षणका लागि तयारी भए पनि प्रपोजल तयार हुनै बाँकी छ । परीक्षण गर्ने व्यक्ति र खर्चबारे टुंगो लागि नसकेको परिषद्का सदस्य सचिव डाक्टर ज्ञवालीले बताए ।

खोपको परीक्षणको लागि बिरामीको सबै क्लिनिकल रेकर्ड, औषधिको प्रति असर तथा औषधिको रेकर्ड दुरुस्त राखी परिषद् तथा स्वास्थ्य मन्त्रालयमा पठाउन भनिएको छ । विश्वका विभिन्न देशले अहिले कोरोना विरुद्ध बनेको खोपको तेस्रो चरणमा परीक्षणको तयारी गरिरहेका छन् ।

रुसमा भने तेस्रो चरणको परीक्षण विना नै खोपलाई स्वीकृति दिएको भन्दै स्वास्थ्य विज्ञले खोपको प्रभावकारितामा प्रश्न उठाएका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona, #corona vaccine, #hot

तपाईको प्रतिक्रिया दिनुहोस