जनकपुर, २१ साउन । प्रदेश २ मा दैनिक संक्रमितको संख्या बढ्दै गएपनि नियन्त्रण र रोकथाम तर्फ उदासिन बनेको भन्दै प्रदेश सरकारको यतिबेला तिब्र आलोचना भईरहेको छ । कोरोना भाइरस संक्रमणको हटस्पर्ट प्रदेश २ बन्दै जाँदा प्रदेश २ सरकारले केबल आश्वासन र भाषण बाहेक केही गर्न नसकेको भन्दै आलोचना भईरहेको छ । कोरोना संक्रमण पहिलो पटक पर्सामा भेटिदाँ गत बैशाखमा प्रदेश २ सरकारले प्रदेश २ को ८ वटै जिल्लामा भेन्टिलेटर र आईसीयू पु¥याउने घोषणा गरेको थियो । तर घोषणा गरेको झण्डै ५ महिना पुग्न लाग्दाँ समेत अझै भेन्टिलेटर खरिदको प्रक्रिया पुरा हुन सकेको छैन् ।
संक्रमित बिरामीको उपचारको लागि भेन्टीलेटर र आईसीयू आवश्यक पर्छ तर प्रदेश २ को ८ जिल्लाका ३ वटा सरकारी अस्पतालमा मात्र भेन्टिलेटर छ भने दुई वटा सरकारी अस्पतालमा मात्रै आईसीयू रहेको छ । बिरगञ्ज र जनकपुरस्थित सरकारी अस्पतालमा मात्रै हालसम्म आईसीयू सेवा छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सबै भन्दा बढी ४ वटा भेन्टिलेटर छ भने आईसीयू छैन् । आईसीयू बिना भेन्टिलेटरको खासै कुनै अर्थ नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
आईसीयू र भेन्टिलेटर एकसाथ भएमात्रै अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिने चिकित्सकको भनाई छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा २ वटा मात्र भेन्टिलेटर छ । सो अस्पतालको आईसीयूमा जडान गरिएको भेन्टिलेटर सधैं भरिभराउ रहने गरेको अस्पताल श्रोतको भनाई छ । यसबाहेक प्रदेश २ को कुनै पनि सरकारी अस्पताल भेन्टिलेटर र आईसीयू सेवा नरहेकोले जटिल समस्या देखिएका कोरोना संक्रमितको उपचार गर्न कठिनाई भईरहेको स्वास्थ्यकर्मीहरुको कथन छ ।
प्रदेश २ को सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आशंका गरिदै आएको छ । ती जिल्लाहरुमा दैनिक जसो कोरोना संक्रमित भेटिदै आएको छ । तर कोरोना परिक्षणको दायरा बढ्न नसकेको स्थानीयहरुको गुनासो छ । प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक प्रयोगशालासहित पर्साको बिरगञ्ज र सप्तरीको राजविराजमा कोरोनाको परिक्षण हुँदै आएको छ । तर ती प्रयोगशालाहरुबाट समेत सुस्त गतिमा परिक्षण भईरहेको स्वास्थ्य बिज्ञहरुले बताएका छन् ।
कहिले मेसिन बिग्रिएको त कहिले किट अभाव भएको भन्दै पीसीआर परिक्षणको रिर्पाेट ढिलो गरी सार्वजनिक हुदाँ जोखिम बढ्दै गएको छ । केही दिनअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना संक्रमण प्रभाबित सप्तरीको बिभिन्न स्थानको निरीक्षण गर्न आएका बेला सरोकारबालासँगको अन्तरक्रियामा तत्काल परिक्षणको दायरा बढाउन आवश्यक पुर्वाधार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर प्रतिबद्धता जनाएको दुई साता बित्न लाग्दाँ समेत त्यसतर्फ खासै प्रगति नभएको सरोकारबालाहरुको गुनासो छ ।
प्रदेश २ को सबै जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहदाँ नत प्रदेश सरकारले यसलाई रोक्न कुनै ठोस नीति ल्याउन सकेको छ नत परिक्षणको दायरा बढाउने कुनै प्रयास नै गरेको छ । प्रदेश सरकारले नयाँ नयाँ निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रबृतिका कारण अविश्वास समेत बढ्दै गएको सरोकारबालाको भनाई छ । सिमा नाकाबाट हुने प्रबेशलाई रोक्न नसक्दाँ प्रदेश २ कोरोनाको उच्च जोखिममा परेको बिश्लेषण गर्न थालिएको छ । सिमा नाकामा कडाई नगर्दा लुकिछिपी भारतबाट नेपाल प्रबेश गर्ने क्रम रोकिएको छैन्, जसका कारण सप्तरी, पर्सा लगायतका जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्न थालिएको छ ।
कोरोना संक्रमण समुदाय स्तरमै फैलिन लागेको भन्दै प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा बाहेक सबै जिल्लामा निषेधज्ञा लगाईएको छ । भारतबाट फर्किएका सप्तरी सदरमुकाम राजविराजका एक व्यापारीको कोरोना संक्रमणका कारण मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा गर्दा उनको परिवारको सबै सदस्यसहित अन्य व्यक्तिहरुमा समेत कोरोना संक्रमण पुष्टी भए लग्तैबाट स्थानीय प्रशासनले सदरमुकाममा निषेधज्ञा जारी गरेको थियो । सदरमुकाममा गरिएको निषेधज्ञाको बेलामा समेत कोरोना संक्रमितको संख्या बढ्दै गएको र अन्य स्थानमा समेत संक्रमण फैलिन सक्ने भन्दै सप्तरी जिल्लाभरी नै एकसाताका लागि स्थानीय प्रशासनले निषेधज्ञा लगाएको छ ।
धनुषामा पनि स्थानीय प्रशासनले जनकपुरमा कफर््यु लगाएको छ । यस्तै महोत्तरीको जलेश्वर, सर्लाहीको मलगंवा, रौतहटको गौर, बाराको कलैया र पर्साको बिरगञ्जमा प्रशासनले निषेधज्ञा जारी गरेको छ । कोरोना संक्रमितसँगै संक्रमणबाट प्रदेश २ मा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । प्रदेश २ मा हालसम्म १७ जना संक्रमितको मृत्यु भईरहेको छ भने संक्रमितको संख्या बढ्दै गएको छ ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #hot